डीपीएलको पहिलो खेलमा काठमाडौं विजयी
धनगढी, २८ माघ । धनगढी प्रिमियर लिग डीपीएल तेस्रो संस्करणको पहिलो खेलमा काठमाडौं गोल्डेन्स विजयी भएको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं गोल्डेन्स घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको हो । १३३ रनको मध्यम चुनौती पछ्याएको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी छदा लक्ष्य भेट्टायो ।
काठमाडौंका लागि महबुब आलम र बिक्रम भुसालले २.५ ओभरमा २९ रनको साझेदारी गर्दै खेल जिताए । बिक्रम १४ रन र महबुब १२ रनमा अविजित बने ।
काठमाडौंका लागि अंकित दबासले २८, गौरब तोमरले २८ र अनिलकुमार शाहले २४ रन बनाए ।
धनगढीका रोहन मुस्ताफाले चार विकेट लिए पनि टीमलाई जित दिलाउन सकेनन् । टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३२ रन बनाएको थियो । धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाएका थिए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ५० रन बनाए । त्यस्तै, सन्दीप रजालीले २८ र सौरभ खनालले १० बलमा २५ रन बनाएका थिए ।













