विद्यालयमा सरस्वती पूजा मनाइँदै
धनगढी, २७ माघ । आज सरस्वती पूजा अर्थात श्रीपञ्चमी माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास सहित सरस्वतीको विशेष पुजाआराधना गरिन्छ । आजको दिनमा ज्ञानका पारखीहरु सरस्वतीको उपासनामा व्यस्त बनेका छन् ।
खासगरी बिद्यालयहरुमा सरस्वती पूजा धुमधामसंग मनाइंदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ ।
आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्छन् ।
बिद्याकी देवी सरस्वतीको जन्मदिनको उपलक्ष्यमा सरस्वती पूजा गरिदै आएको धार्मिक बिश्वास रही आएको छ ।
ब्रम्हाले संसार सृष्टि गरेपछि त्यसमा बाणी भर्ने कामको लागि सरस्वतीलाई जन्म दिएको पण्डितहरु बताउछन् । आजको दिनबाट नै बसन्त ऋतु आरम्भ हुने हुँदा आजको दिनलाई बसन्त पंचमी पनि भनिन्छ ।













