मनिष र मस्मिताको स्वरमा थारु भाषाको पहिलो बालगीत
धनगढी, २७ माघ । थारु भाषामा पहिलो पटक बालअधिकार सम्बन्धी गीत सार्वजनिक भएको छ । थारु फिल्मस् प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको बाल गीत थारु समुदायकै पहिलो भएको दाबी गरिएको छ ।
हमर बाल अधिकार बोलको गीतमा बालबालिकालाई उसको अधिकार दिन आग्रह गरिएको छ । थारु समाजमा बालबालिकालाई शिक्षा दिनुपर्छ, ज्ञानगुनका कुरा सिकाउनुपर्छ भन्ने चेतनामूलक सन्देश गीतमा झल्किएको छ ।
भिन्सरिया उठक गोबर ना करहाउ
आनक घर छेगरी भेरी चरहाइ ना पठाउ
स्कुल पठाउ ज्ञानगुनके बाट सिख
परहलिख पइना त हो बालअधिकार
माथि उल्लेखित शब्दले भन्छ, उठ्नेवित्तिकै मलाई गोबर उठाउन नलगाउ, अर्काको घरको भेडा बाख्रा चराउन नपठाउ, मलाई स्कुल पठाउ, पढ्न लेख्न त हाम्रो अधिकार हो ।

आर्थिक अवस्था कमजोर रहेका धेरै बालबालिका अझैपनि शिक्षाबाट वञ्चित छन् । गीतमा इन्दु थारुको शब्द र सिएल चौधरीको संगीत छ भने मनिष थारु र मिस्मिता चौधरीले स्वर दिएका छन् ।
पहिलो पटक स्टुडियोमा गीत रेकर्ड गराएका मनिष र मिस्मिताको गायनबाट आफू प्रभावितसमेत भएको इन्दुले बताइन् । ‘छिट्टै अर्को बाल गीत पनि रेकर्ड गराउँछौं,’ उनले भनिन् ।
संगीतकार सिएल चौधरीले पनि मनिष र मिस्मिताको कलाबाट प्रभावित भएको बताए । दुवै जनाले आफूले सोचेभन्दा राम्रो स्वर दिएको उनको भनाई छ ।

आफ्ना छोराछोरीको कला देखेर मनिष र मिस्मिताका आमा टीका चौधरी र आशा चौधरी दुबै खुशी भएको बताउछन् । ‘छोराबाट म धेरै प्रभावित भएको छु । ऊ जे चाहन्छ, उसको चाहना पूरा गर्छौं,’ मनिषका आमा टीका चौधरीले भनिन् ।
त्यस्तै मिस्मिताका आमा आशा चौधरीले पनि छोरीले थारु भाषाको पहिलो बालगीत रेकर्ड गर्न पाएकोमा खुसी छिन् । छोरीको चाहनालाई आफूले सधैं प्राथमिकतामा राखेको भन्दै यो गीत गाउन प्रेरित गरेको बताइन् ।













