विनोद चौधरी सहित पाँच जनाको नाममा सडक नमाकरण

धनगढी, २६ माघ । २०५९ सालमा राज्य पक्षबाट बेपत्ता पारिएका विनोद चौधरी लगायत कैलारी गाउँपालिकाका पाँच जना थारु व्यक्तित्वहरुको नाममा सडकको नमाकरण गरिएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बताए ।

गत माघ १६ गते आयोजित गाउँसभा भेलामा कैलारी गाउँपालिकाका पाँच जना थारु व्यक्तित्वहरुको नामम सडकको नाम राख्ने प्रस्ताव पेस भएको थियो । उक्त प्रस्ताव माघ १७ गते सर्वसम्मतले पारित भई नमाकरण गर्ने निर्णय भएको चौधरीले बताए ।

अध्यक्ष अंकितका अनुसार बेनौलीदेखि भगतपुरसम्म विनोद चौधरी डगर, सुर्मिनाला पुलदेखि बेनौलीगाउँसम्म हिमानन्द महतो डगर, हसुलिया बजारदेखि रानामुरा हुँदै कुकुरभुकासम्म जोखन रत्गैँया डगर, सरकपुरदेखि लोहरपुरसम्म चक्रबहादुर डंगौरा डगर र बैजपुर गाउँदेखि वसन्ता हुँदै भुइँयाफाटासम्म रामप्रसाद पल्परिया डगर नमाकरण गरिएको बताए । उनले माघ महिनाको अन्मिम सम्म सडकमा होडिंगबोर्ड राख्ने तयारी भईरहेको जानकारी दिए ।

हिमानन्द पञ्चायतकालीन मन्त्री हुन् भने विनोद चौधरीलाई तत्कालीन शाही सेनाले बेपत्ता बनाएको थियो । त्यस्तै जोखन रत्गैँयालाई शाही सेनाले गोली हानी हत्या गरेको थियो भने एमलेका पूर्व सांसद चक्रबहादुरलाई माओवादीले गोली हानी हत्या गरेको थियो । भने रामप्रसादलाई पनि सेनाले गोली हानी हत्या गरेको थियो । संघीय संरचनामा गइसकेपछि कुनै स्थानीय तहले गरेको यो पहिलो निर्णय रहेको अध्यक्षको दाबी छ ।