धनगढी खेलकुदको हव हो : नगरप्रमुख वड
धनगढी, २६ माघ । कैलाली जिल्लामा प्रथम अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता शनिवार देखि धनगढी कवडहलमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले गरेका हुन । प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले धनगढी खेलकुदको हव भएको बताए ।
नगरप्रमुख वडले भने ‘हामी सबै किसिमका खेलकुदलाई समान प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’ एक वडा एक खेलमैदान निर्माण गर्ने अभियानपनि सञ्चालन गरिरहेका छौं, सबै वडामा खेल मैदान निर्माण गर्ने काम सुचारु रहेको नगरप्रमुख वडको भनाई थियो ।
उनले खेलाडी भएको समाज र बस्ती अनुशासित हुने भएको बताउदै खेल स्वास्थ्य र राष्ट्रका लागि मात्रै नभएर समाजका लागि पनि त्यतीकै महत्वपूर्ण रहेको बताए ।
त्यसै गरि कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पाराज कुँवरले निजी क्षेत्र खेलकुदको विकासमा आवश्यक परेको ठाउँमा सहयोग गर्न तयार रहेको बताए । उनले भने, खेलकुद मैदान निर्माण गर्ने कुरामा पनि निजी क्षेत्र साझेदारी गरेर जान तयार रहेको जानकारी दिए ।
कैलाली जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा भैरहेको प्रतियोगितामा १२ वटा डोजाङ्ग अन्तरगत बिभिन्न विद्यालयका २ सय १० जना खेलाडी रहेका छन् । जसमा २१ देखि ५२ किलो तौल समुहका छन् ।













