भोली अखिल क्रान्तिकारीको शैक्षिक हड्ताल
काठमाडौं, २३ माघ । अखिल (क्रान्तिकारी)ले विहीबार (भोलि) शैक्षिक हडताल गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकको गिरफ्तारविरुद्ध देशभर शैक्षिक हडतालको घोषणा गरेको हो।
शैक्षिक हड्तालको पूर्वसन्ध्यामा अखिल क्रान्तिकारीले देशभर मसाल जुलुस निकाल्ने बताएको छ । बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशैभरी मसाल जुलुस निकालिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्वल शाहीले जानकारी दिए ।
नेपालगंज, धनगढी, विराटनगर, बुटबल, चितवनलगायतका ठूला सहर, साथै अछाम, झापा, सुनसरीसहित सबै जिल्लामा अखिल क्रान्तिकारीले मसाल जुलुस निकालेको छ ।
अखिल क्रान्तिकारीले भोलि एक दिन शैक्षिक संस्थाहरु बन्द गरि सहयोग गर्न आग्रह गरेको छ । अखिल क्रान्तिकारीले केन्द्रीय समितिले यसअघि नै पत्रकार सम्मेलनको आयोजना गरि सो आग्रह गरेको थियो भने बुधबार साँझ ब्यूरो, जिल्ला, समन्वय समितिले विज्ञप्ति जारी गरेर व्यवस्थापन, अभिभावसँग आग्रह गरेको छ ।
यसैबीच सिटिईभिटी समन्वय समिति संयोजक हर्कबहादुर बिकले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर भोलि एक दिन सिटिईभिटी अन्तरगतका सबै शैशिक्षक संस्था बन्द गरी सहयोग गर्न आग्रह गरेका छन् ।













