डीपीएल विजेतालाई ३० लाख रुपैयाँ पुरस्कार प्रर्दान गरिने
धनगढी, २३ माघ । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो संस्करणको विजेतालाई ३० लाख रुपैयाँ नगद पुरस्कार सहित ट्रफी दिने आयोजकले जनाएको छ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीले आज (बुधबर) फाप्ला मैदानमा पत्रकार सम्मेलन गरी पुरस्कारराशी सार्वजनिक गरेको हो ।
गतवर्ष दोस्रो संस्करणको विजेतालाई २५ लाख रुपैया पुरस्कार दिइएको थियो । यसवर्षको विजेताले ३० लाख नगद रुपैया पुरस्कार पाउने एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । मोफसलको प्रतियोगितामा यो मुलुकमै सबैभन्दा बढी पुरस्कारराशी हो ।

त्यसैगरी, उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले चार लाख र चौथो हुने टोलीले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ ।
हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैया पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।
माघ २६ गतेबाट फाप्ला क्रिकेट मैदानमा शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाइसी अत्तरिया, काठमाण्डौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता हुँदैछ ।














