हेलिकोप्टरबाट प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको अवलोकन
धनगढी, २३ माघ । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको अवसरमा हेलिकोप्टरबाटै सुदूरपपश्चिमको विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गराइरहेको छ ।
हेलिकोप्टर चढेर धनगढी र खप्तडको अवलोकन गर्न महोत्सवमा रहेको सचिवालयबाट बुकिङ गर्ने व्यवस्था गरेको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।
अध्यक्ष कुँवरले सुदूरपश्चिम महोत्सवमा मंगलबारदेखि हेलिकप्टर चढेर सुदूरपश्चिममा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिने बताए ।

संघका बरिष्ठ उपाध्यक्ष पुष्पकराज ओझाले मंगलबार पहिलो दिन १८ जनाले हेलिकप्टर चढेर धनगढी अवलोकन गरेको र खप्तड अवलोकनका लागि १२ जनाले बुक गरेको बताए ।
हेलिकप्टर चढेर धनगढी अवलोकन गर्न चाहनेका लागि चार हजार र खप्तड अवलोकन गर्न चाहनेका लागि ३० हजार रुपैयाँ प्रति व्यक्ति शुल्क निर्धारण छ ।
अवलोकनका लागि संघले माउन्टेन हेलिकप्टर्स प्रालिको छ सिटे हेलिकप्टर धनगढीमा तयारी ल्याएको छ । हेलिकप्टरले हरेक उडान धनगढीस्थित पुरानो एयरपोर्टबाट भर्ने आयोजकले जनाएको छ ।














