सुदूरपश्चिम महोत्सवको तयारी पुरा, मुख्यमन्त्रीद्धारा उद्घाटन हुने
धनगढी, २० माघ । सुदूरपश्चिम महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । कैलाली उद्योग वाणिज्य संघले आइतबार महोत्सव स्थाल धनगढीस्थित संघीय प्रहरी ईकाईको मैदानमा पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी पुरा भएको बताएको हो । महोत्सव उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए । उनले महोत्सव उद्घाटन लगायत महोत्सवमा हुने सम्पूर्ण कार्यक्रम तय भइसकेको जनाए ।
महोत्सवकालागि महोत्सव स्थाल र महोत्सव स्थल छेउछाउमा झिलिमिलि बनाएको छ । महोत्सवमा दुई सय २५ वटा स्टलहरु बुकिङ, छपाई, स्टेज निर्माण, लगायतको काम सकिएको बताउदै अध्यक्ष कुँवरले एक सय ७० वटा व्यापारिक र बाँकीमा कृषि, होटल रेष्टुरेन्ट रहेको बताए ।
एक करोडको लगानीमा महोत्सव आयोजना गरिरहेको र तीन लाख जनाले महोत्सव अवलोकन गर्ने आशा गरिएको अध्यक्ष कुँवले बताए । उनले महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई विशेष प्रोत्साहन गर्ने नीति लिएको बताए ।
यस पटकको महोत्सवमा संघले मागहरु घटाएर सात बुँदे बनाएको छ । संघले शालिन आन्दोलन स्वरुप सरकारलाई सात बुँदे माग राख्दै दवाव स्वरुप सात किलोको माला लगाउने संघका उपाध्यक्ष पुष्कर ओझाले बताए । उनले समय अनुसार केहि माग परिवर्तन भएको र केहि माग पुरा भएको हुनाले मागको संख्या घटाइएको बताए ।

सुदूरपश्चिममा औद्यौगिक क्षेत्र स्थानपना, उद्योग प्रोत्साहनका लागि सुदूरपश्चिमलाई उद्योगका लागि १० वर्षसम्म कर छुट गर्न, धनगढी विमान स्थललाई क्षेत्रीय विमान स्थलको रुपमा स्तरोन्नती गरी वैकल्पिक अन्तराष्ट्रिय विमान स्थल बनाउन, प्रदर्शनी स्थल निर्माण, सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न प्रदेश अस्पताल बनाउन, गौरीफन्टा नाकाको स्तरोन्नती गरी सुदूरपश्चिमलाई चीनसंग जोड्ने नाका खुलाउन, सुदूरपश्चिममा पर्यटन विकासका लागि खप्तड, घोडाघोडी, शुक्लाफाँटा, चिसापानी लगायतका पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास गर्न माग गर्ने संघका उपाध्यक्ष ओझाले बताए ।
महोत्सवमा मुख्य आकर्षणको रुपमा रहने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको फिक्स भइसकेको आयोजकले जनाएको छ । महोत्सबमा स्थानीय कला, संस्कृति, पर्यटन, व्यापार, उद्योग र कृषिको प्रदर्शनी पनि मुख्य आकर्षणको रुपमा रहने छ ।














