साझा अधिकारले काम अल्झियो : नगरप्रमुख वड
धनगढी, १९ माघ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले संघ, प्रदेश र स्थानीयतहका साझा अधिकार अन्तरगतका कानून निर्माणमा भएको ढिलाईले काम अल्झिएको बताएका छन् ।
शनिवार संघ, प्रदेश र स्थानीयतह बिच पशुसेवा ऐन, नियम मापदण्ड, कार्यविधी र कार्यक्रम सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख वडले यस्तो बताएका हुन् । संघले कानून निर्माण नगरेसम्म प्रदेशले बनाउन नसक्ने, प्रदेशले नबनाए सम्म स्थानीय सरकारले कानून निर्माण गर्न नसक्ने ब्यबस्था साझा अधिकारमा रहेकोले काम गर्न गाह्रो भईरहेको बताए ।
नगरप्रमुख वडले भने, ‘यही कारण स्थानीयतहमा कतिपय कानून निर्माण हुन सकेका छैनन्, कानून निर्माण नभएका कारण पनि कतिपय काम अगाडी बढ्न सकेको छैन ।’
स्थानीयतहले आफ्नो एकल अधिकार भित्र परेका अधिकांस कानूनहरु निर्माण गरिसकेको छ तर संघ र प्रदेशले साझा अधिकार अन्तरगतका कानून निर्माणमा ढिलाई गरिरहेको बताए ।
स्थानीयतहमा कृषी तथा पशु स्वास्थ्य अन्तरगतको जनशक्ति अभाव रहेको गुनासो गरे । पहिले जिल्लामा जिल्ला पशु स्वास्थ्य कार्यालय थियो, जिल्ला कृषी विकास कार्यालय थियो नगरप्रमुख वडले भने, अहिले स्थानीयतहमा कार्यालय मिलान भएपनि आवश्यक जनशक्ति नहुदा किसानहरु मर्कामा परे समेत बताए ।
कैलालीमा मात्र नभएर अहिले सामुदायीक पशु चौपयाको ब्यबस्थापन निकै चुनौतीपूर्ण रहेको उनको भनाई छ ।













