घरमा काम गर्न राखेका मगरको बयानः आमाको हत्या गरी रगतले हातखुट्टा धोएर सुते

चितवन, १९ माघ । जिल्लामा एकजना महिलाको हत्या भएको छ । चेतवनको राप्ती नगरपालिका-६ मुडाभारीमा रुपा थापाको हत्या भएको हो । थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको प्रहरीले बताएको छ । यही माघ १४ गते राति उनको हत्या भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनको हत्या घरमा काम गर्न बसेका धादिङ ताल्तीखोलका १४ वर्षिय सन्तोष आलेमगरले गरेका हुन् । मगरले आफूलाई जन्त जान रोकेपछि आवेगमा आई खुकुरी प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । घटनाक्रमअनुसार सोही दिन बिहान छिमेकीको विवाहमा जन्त जान बस चढेका मगरलाई थापाले रोकेकी थिइन् ।

बढी जिद्धी गरेपछि उनी जन्त गएका थिए । मगरको भनाइ उद्धृत गर्दै प्रहरी प्रवक्ता रेग्मीले भने,“राति ९ः४५ बजेतिर जन्तबाट फर्किदा आमा निदाउनुभएको थियो, मैले घरको माथिल्लो तल्लाको बार उप्काएर भित्र छिरेर तल झरी खुकुरीले छप्काएको हो” मगरले भने । उनले थापाको हत्यापछि रगत लागेको हातखुट्टा धोएर सुतेको बताए । समय–समयमा आफूलाई गाली गर्ने गरेको भन्दै आवेगमा आएर हत्या गरेको शुक्रबार सरकारी वकिलको कार्यालयमा वयानका क्रममा मगरले बताएको प्रवक्ता रेग्मीले बताए ।

१० महीनाअघि घरको काम गर्न मगरलाई थापा परिवारले राखेको थियो । छोरी ज्वाइँले धादिङका ती किशोरलाई खोजेर घरमा काम गर्न पठाएका थिए । घरमा रहेका कुखुरा र भण्डारामा रहेको घरको रेखदेख गर्न बसेका मगरले खुकुरी प्रहार गर्दा टाउकाको ४ ठाउँमा र पाखुराको एक ठाउँमा चोट लागेको थियो ।

थापाको जेठो छोराले घरको रेखदेख गर्ने भए पनि कामका सिलसिलामा जिल्ला बाहिर गएका बेला सो घटना भएको थियो । थापाको श्रीमानसमेत घरमा नरहेको बेला ती किशोरले उनको हत्या गरेका थिए ।

घटना स्वीकार गरे पनि अन्य व्यक्ति संलग्न भए-नभएको अनुसन्धान भइरहेको रेग्मीले बताए । अनुसन्धानका लागि प्रहरीले अन्य ५ जनालाई नियन्त्रणमा लिएको छ ।