हिउँले सुन्दरता बढायो रामारोसनको

कालिकोट, १६ माघ । पर्यटनको प्रचुर संभावना बोकेको अछामको रामारोशन गाउँपालिका–६ मा पर्ने रामारोशन ताल हिउँका कारणले निकै खुलेको छ । कालिकोट र अछामको सिमानामा रहेका १२ वटा तालहरु अहिले हिउँका कारणले खुलेका हुन् ।

समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार ७९२ मिटर उचाइमा रहेको छ । सुदुरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र मानिने रामारोशनमा रहेका तालहरू आवश्यक संरक्षण, संवद्र्धन र उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउदले बताए ।

तस्वीर : खड्कसिंह रोकाया

‘साना ठूला गरी १२ वटा ताल र १८ वटा पाटन खण्ड रहेका छन्’, उनले भने, ‘१२ बण्ड, १८ खण्डका नामले पनि चिनिन्छ । अहिले हिउँका कारणले निकै सुन्दर देखिएका छन् ।’

रामारोशन क्षेत्रमा रहेका प्रमुख तालहरूमा जिंगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा ताल रहेका छन् ।