‘सरकारले भौतिक शरीर कैद गरेपनि विचारलाई कैद गर्न सक्दैन’
धनगढी, १४ माघ । सुनसरीमा महिलाद्वार खोलिएका गैरसरकारी संस्था थारु महिला उत्थान समाजका पदाधिकारी टीकापुर घटनाका राजबन्दीसँग भेटवार्ता गरेका छन् । भेटबार्तामा समाजका अध्यक्ष सिता चौधरीले टीकापुर राजबन्दीका बालबालिकाहरुको अवस्थाप्रति दुखः व्यक्त गरिन् ।
चौधरीले भनिन् ‘राजबन्दीहरु त् कम्तिमा सरकारले दिएको नुन र भात खाना पाएका छन्, तर उनीहरुको परिवार, बालबच्चाहरुको अवस्थाबारे कसले चाँसो दिने हो ?।’ उनले बालबालिकाहरुले पनि अरुका बालबच्चा सरह पढ्न पाउने कि नपाउने भन्ने सवालमा आफूहरु चासो दिँदै सुनसरीबाट कैलालीको अवलोकन गर्न आएको बताइन् ।
भेटवार्तामा कैलाली कारागारमा रहेका राजबन्दीहरुले सरकारले हाम्रो भौतिक शरीर कैद गरेर राखेपनि विचारलाई कैद गर्न नसक्ने बताएका छन् । उनीहरुले अाफूहरुको विचार विभिन्न माध्यमबाट पस्किन चाहेको बताए ।
‘सरकारले हामीमाथि झुठो आरोप लगाएर ३ वर्षसम्म पुर्पक्षको लागि कैद गर्यो तर हाम्रो विचार अहिले सम्मपनि कैद भएको छैन । हामी त्यसैमा सन्तुष्ट छौं’ राजबन्दीहरुले सुनसरीका महिला टोलीसँगको कुराकानीको क्रममा भने ।

सुनसरीका महिला टोलीले बालबालिकाको पठनपाठनको लागि सहयोग पुगोस् भन्दै आर्थिक सहयोग समेत हस्तान्तरण गरेका थिए ।बालबालिकाहरुको पठनपाठनको लागि सहयोग स्वरुप उनीहरु ३० हजार रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम थारु कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति माधव चौधरीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
समाजका अध्यक्ष सिता चौधरी नेतृत्वको टोलीले आइतबार धनगढी पुगेको थियो । सो टीम सोमबार टीकापुर हुँदै सुनसरी फर्किने बताएको छ । आर्थिक सहयोग वाफतको रकम हस्तान्तरण गर्दै चौधरीले सो राजबन्दीहरुका बालबालिकाहरुको शिक्षामा खर्च गर्ने बताए ।
रकम हस्तान्तरण कार्यक्रममा थरुहट/थारुवान आन्दोलन संयूक्त संघर्ष समिति कैलालीका संयोजक कृष्णकुमार चौधरी टीकापुर घटनाबारे जानकारी गराउँदै राज्यपक्ष, प्रहरी प्रशासन थरुहट/थारुवान आन्दोलन दवाउने काम गरेको बताए ।
हक अधिकारको लागि शान्तिपूर्ण आन्दोलन भएपनि त्यसलाई प्रहरी प्रशासनले दवाउन खोजेको र दशौं हजारको मासलाई नियन्त्रण गर्न नसक्दा अप्रिय घटना घटेको बताए । नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष भानुराम थारु प्रतिनिधि सभा सदस्य रेशम चौधरीलाई अदालतले दोषी प्रमाणित गरिनसकेकोले ग्रहणपछि जेल कोच्नुको सट्टा सांसद पदको पुनर्वहाली गर्नुपर्ने बताए ।
टीकापुर घटनाका राजबन्दी परिवारहरुको करिब सबैको आर्थिक अवस्था नाजुक रहेकोले परिवारको विचल्ली रहेको र बालबच्चाको पढाईमा असर पुगेको उनले बताए ।
थारु महिला उत्थान समाजका रन्जिता चौधरी, मन्सा चौधरी, बुधनीदेवी चौधरी, गयावत्ती चौधरी, आशा चौधरी हर्षलाल चौधरी रामकुमारी चौधरीको टीम कैलाली पुगेको हो ।













