विद्यालय प्रति अभिभावक उदासीन : नगरप्रमुख

धनगढी, ११ माघ । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अभिभावकहरुको उदासीनताले सामुदायीक विद्यालयको गुणस्तरमा सुधार आउन नसकेको बताएका छन् ।

शुक्रवार उप–महानगरपालिकाको वडा नं १२ स्थीति सिद्धनाथ माध्यमिक विद्यालयमा साथी दौतरी शिक्षा सम्वन्धी अभिभावकहरुलाई तालिमको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो गुनासो गरेका हुन । अभिभावकहरुले विद्यालयमा आउने जाने र पठनपाठनको अबस्था बुझ्ने पनि गर्नुपर्छ नगरप्रमुख वडले भने,सामुदायीक विद्यालयहरुको पठन पाठन खस्कीनुको पछाडी अभिभावको उदासीनता रहेको बताए ।

सरकारले सामुदायीक विद्यालयमा ठूलो लगानी लगाएको भएपनि सोचे जस्तो प्रतिफल प्राप्त गर्न नसकेको बताए । उनले भने,‘अभिभावकको दायीत्व छोराछोरीलाई विद्यालयमा पठाउनु मात्रै नभएर विद्यालयमा पठनपाठन भैरहेको छ कि छैन भनेर बुझ्नुपनि हो । नगरप्रमुख वडले सिद्धनाथ माध्यमिक विद्यालयमा चालु आर्थिक बर्षमा मात्रै १ करोडको हाराहारीमा संरचना निर्माणका लागि सहयोग गरेको बताए ।

धनगढी उपमहानगरपालिकाका वडा नं १२ का अध्यक्ष गणेश प्रशाद जोशीले अभिभावकले आफ्ना छोराछोरी पढ्ने विद्यालयका लागि समेत समय निकाल्न अनुरोध गरे । सरकारी विद्यालयमा पढ्ने र निजी विद्यालयमा पढ्ने छोराछोरीमा घर भित्रै समेत बिभेद छ उनले भने,यो सोचबाट अभिभावकहरु मुक्त हुनुपर्छ ।

राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका संयोजक राजेन्द्र रैकाले शिक्षकले गर्ने पढाई संगै सहपाठी शिक्षण गर्न सकेमा पढाईमा गुणस्तर आउने बताए । साथी दौतरी शिक्षा विद्यालयमा मात्रै नभएर समुदायका लागि समेत आवश्यक हुने उनले बताए ।