थारु समुदायमा भुरा खेल तथा नेतृत्व चयन शुरु

धनगढी, ५ माघ । माघ पर्व सकिएसँगै थारु गाउँमा भुरा खेल तथा नेतृत्व चयन गर्ने कार्यक्रम शुरु भएको छ । एक वर्षकालागि गाउँको बरघर, भलमन्सा, घरको गरधोस्या, गुरुवा तथा अन्य प्रतिनिधि छनोट गर्न भुरा खेल खेल्ने गर्दछन् । भुरा खेलमा नेतृत्व चयन पनि गर्दछन् ।

कृष्णपुर नगरपालिका–२ वाणीको थारू बस्तीमा बरघरका रूपमा १८ औँ पटक लवारीराम डगौरा थारु चयन भएका छन् । गाउँको सफल नेतृत्वबहन गर्न सक्षम भएकै कारण गाउँका बासिन्दाले लवारीरामलाई विसं २०५७ देखि लगातार बरघरका रूपमा चयन गर्दै आएका हुन् ।

बरघरले गाउँको विकाससँगै विवाह तथा परम्परागत सांस्कृतिक कार्यक्रममा नाच, पूजापाठ, अंशबण्डा, झैझगडा मेलमिलाप र गाउँको रीतिथिति बसाल्ने काममा आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्दछन् । स्थानीय तहको निर्वाचनपश्चात् जनप्रतिनिधि चयन भए पनि थारू गाउँमा बरघरको भूमिकालाई अहिले पनि महत्वपूर्ण मानिदै आइएको छ । जनप्रतिनिधिले पनि गाउँको विकासका लागि श्रमदान जुटाउन बरघरमार्फत सहायता लिनुपर्छ ।

समुदायमा रहेको सकारात्मक अभ्यास, परम्परा र संस्कृति संरक्षणका लागि योगदान पु¥याउन र प्रजातान्त्रिक प्रक्रियामा आधारित बरघर प्रथालाई जीवन्त राख्नुपर्नेमा थारू अगुवा नरेन्द्रप्रसाद चौधरीले जोड दिए । “यसैको माध्यमबाट समाजमा शान्ति सद्भाव र विकास सम्भव छ” उनले भने ।

मठमन्दिर निर्माणमा सरकारले बजेट विनियोजन गर्ने परिपाटी रहे पनि थारू समुदायको संस्कृतिसँग जोडिएका देउथान र कला संस्कृति जर्गेनाका लागि बजेट विनियोजन गर्ने अभ्यास देखिँदैन, त्यसैले यसका लागि स्रोत जुटाउन वरघर भलमन्सा मार्फत अभियानकै रुपमा काम अघि बढाउनुपर्ने देखिन्छ

“थारू समुदायमा संस्कृति, साहित्य, कला, रीतिरिवाज, चालचलन र भसभूषालगायत विशिष्ट पक्षलाई पर्यटनसँग जोड्न र पहिचानलाई जोगाउनका लागि बरघर प्रथाको निरन्तरताले मात्रै सम्भव छ भन्छन् थारु अगुवाहरु ।

भलमन्सा, बरघर र महतौँ प्रथालाई थारू समुदायले सदियौँदेखि एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै आएको पाइन्छ । आफूहरूले परम्परा, रीतिरिवाज, जीवनशैली, संस्कृतिको संरक्षणका लागि सफल अभ्यासका रुपमा अनुशरण गर्दै आएका छन्

कैलाली, दाङ, बाँके, बर्दिया, सुर्खेत, कञ्चनपुर लगायत जिल्लामा बसोबास गर्दै आएका थरु समुदयमा बरघर प्रथाले बढी महत्व पाउने गरेको छ ।