खप्तड गोल्डकपको फाइनलमा आज थ्री स्टार र नेपाल पुलिस भिड्दै

धनगढी,५ माघ । तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा आज रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । दुवै टोलीले मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको उपाधिसहित जित्ने लक्ष्य राखेका छन् ।

पुलिसका कप्तान विक्रम धिमालले योजनाअनुसार खेल्दै उपाधि जित्ने बताएका छन् । ’ हामीले यहाँसम्म आइपुग्दा आफ्नो योजना अनुसार खेलेका छौं । फाइनलमा पनि त्यसलाई निरन्तरता दिंदै उपाधि जित्ने लक्ष्य राखेका छौं, ’ उनले भने ।

पुलिसका प्रशिक्षक अनन्त थापाले मोफसलको सर्वा्धिक धनराशीको प्रतियोगिताको फाइनल पुग्दा टोली हौसिएको बताए । ’लिगमा अपेक्षित प्रदर्शन हुन सकेन । अहिले मोफसलको सर्वा्धिक धनराशीको पुरस्कार रहेको प्रतियोगितामा फाइनल यात्रा तय गर्दा पुरै टोलीको मनोबल बढेको छ । फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्नेछौं ।’

रुस्लान थ्री स्टारका कप्तान विक्रम लामाले अपेक्षा गरेअनुसार नतिजा हासिल गरिरहेको बताए । ’ लिगमा हाम्रो प्रदर्शन राम्रो हुन सकेको थिएन । मोफसलमा हामीले राम्रो सुरुवात गर्ने लक्ष्य राखेका थियौं । यस प्रतियोगितालाई हामीले शिक्षाको रुपमा लिएका छौं । अब फाइनलमा उपाधि जितेर सुखद सुरुवात गर्न तत्पर छौं,’ उनले भने ।

प्रशिक्षक उज्ज्वल मानन्धरले विपक्षी भन्दा बढी मिहिनेत गरेर उपाधि जित्ने बताए । ’फाइनल पुगेका छौं । लक्ष्य भनेको उपाधि जित्ने नै हो । विपक्षी टोलीभन्दा बढी मिहिनेत गर्दै नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं,’ उनले थपे । थ्री स्टारका व्यवस्थापक मुकेश नकर्मीले पनि राम्रो प्रदर्शन भइरहेकाले उपाधि जित्नेमा आशावादी रहेको बताए ।

शनिबार धनगढी रंगशालामा हुने प्रतियोगिताको फाइनल विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख रुपैयाँमा चित्त बुझाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ हरेकले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।