आज माघे संक्रान्ति, थारु समुदायको नयाँ वर्ष सुरु
१ माघ, धनगढी । आज माघे संक्रान्ति तथा थारु समुदायको नयाँ वर्ष सुरु । आफ्नो परम्पराअनुसार देशभर मनाइँदै छ । विशेषगरी थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने धुमधामसँग मनाइरहेका छन् ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भन्दै माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । तराईमा नुहाउने पर्व पनि भनिन्छ । विहानै धारा र घाटमा गएर नुहाएर मिठोमिठो खाएर माघी मनाइन्छ । ठाउँ र समुदायअनुसार माघीलाई फरकफरक तरिकाले मनाईन्छ ।
विशेषगरी नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।
सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।
माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनहरुको विहानैबाट भीड लागेको छ ।
सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।
पैराणिक मान्यताअनुसार सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए ।













