मजगाउँमा माघ महोत्सव हुने, आकर्षणका केन्द्रबिन्दु थारु घर
धनगढी, २७ पुस । गोदावरी नगरपालिका ८ मजगाउँमा माघ महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा गोदावरीको आयोजनामा हुन लागेको महोत्सवमा थारु समुदायको पुरानो घरलाई आकर्षणका केन्दबिन्द बनाउने आयोजकले जनाएको छ ।
थारु कल्याणकारीणि सभाले शुक्रबार अत्तरियामा पत्रकार सम्मेलन आयोजना गरी माघ ५, ६ र ७ गते माघ महोत्सव आयोजना गर्ने जनाएको बताए । महोत्सव आयोजक समितिका कार्यक्रम संयोजक माधव चौधरीले मेलामा थारु खानपानका परिकार, नाचगान, कलाकारहरुको प्रस्तुतीसंगै थारु समुदायको पुरानो घर मूख्य आकर्षणका केन्द्रबिन्दु रहने बताए ।

उनले महोत्सव आयोजनाका लागि विभिन्न समिति गठन गरी तयारी तिब्ररुपले अगाडि बढाएको जनाए । चार लाख रुपैयाँको लागतमा आयोजना गरिने महोत्सवमा दुई लाख रुपैयाँ गोदावरी नगरपालिकाको कार्यालयले सहयोग गर्ने र बाँकी विभिन्न प्रायोजकहरुबाट सहयोग प्राप्त गर्ने चौधरीले बताए । उनले महोत्सवमा १० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गर्ने बताए ।













