घुराहा पुलको किनार पेटी भाँसिदै जाँदा दुर्घटनाको जोखिम
धनगढी, २४ पुस । हुलाकी राजमार्ग अन्तर्गत धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिका जोड्ने घुराहा पुलको वरपरको किनार पेटी भाँसिदै जाँदा दुर्घटनाको जोखिम बढेको छ ।
दैनिक सयौं ठूलो तथा सानो यात्रुबाहक साधन सो पुलहुदै ओहरदोहर गर्ने भएकोले समयमै सरोकारवाला निकायको ध्यान नजाँदा दुर्घटनाको जोखिम बढेको हो । धनगढी र कैलारी गाउँपालिकाको सिमानामा पर्ने पुलको वरपरको किनार पेटी जिर्ण भएपनि सरोकारवाला निकायको ध्यान मर्मत सम्भारतर्फ जान नसकेको स्थानीय सुनिता चौधरीको गुनासो छ ।
बर्षातको पानीले पुल किनारको माटो बगाएर पक्की रोड नै कटान गर्न थालेको जानकारी हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका पुर्व प्रमुख मनिष कुमार शाहले थाहाँ पाएको र तिहार लगत्तै मर्मत सम्भार गर्ने बताएका थिए । तर प्रमुख शाह धनगढीबाट सरुवा भई काठमाडौ गएको र हालसम्म सो क्षेत्र मर्मत हुन नकेको हो ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढीमा भरखरै आएका योजना प्रमुख रामकुमार जैशवाललाई घुराह पुलको वरपर क्षेत्रको किनार पेटी भाँसिएको बारे आफूलाई जानकारी नभएको बताए ।
उनले जिर्ण भएको हुलाकी राजमाग मर्मत सम्भारको लागि छुट्टै बजेट विनियोजन नभएको कारण पुल किनारमा गर्नुपर्ने मर्मत हुननसकेको जनाए ।
धनगढीबाट भोलि (बुधबार) हुलाकी राजमार्ग अन्तर्गत धनगढीदेखि सत्ती सम्म निरक्षण टोली अनुगमन गर्न जाने खबर आएको जैशवालले बताए । उनले घुराहा पुल किनारमा गर्नुपर्ने मर्मत सम्भारबारे सो टीमसंग छलफल गर्ने र छलफलको निश्कर्र्ष अनुसार काम अगाडी बढाउने बताए ।

हुलाकी राजमार्गमा अन्तर्गत बसन्ता वन क्षेत्रमा पर्ने रुख कटानीको विवादमा सहमति हुननसक्दा सो क्षेत्रमा हुलाकी निर्माण कार्यमा अवरोध भईरहेको बताए । रुख कटानीको लागि बन विभागबाटै आदेश आउने वित्तिकै रुख कटानगरि निर्माणकार्य अगाडी बढाउने जानकारी दिए ।
कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीले सो पुलको उत्तर पट्टि आफ्नो क्षेत्र भित्रपर्ने भएकोले गाउँपालिकाले तिहार लगत्तै मर्मत सम्मार गर्ने भनिएपनि हुलाकी राजमार्ग योजना कार्यालयका पुर्व प्रमख शाहले मर्मत गर्न नदिएको बताए ।
उनले पुर्व प्रमुखको सरुवापछि नयाँ आएको प्रमुखसंग छलफल गर्न नपाएको कारण मर्मत सम्भारमा ढिलाई भएको बताए । गापा प्रमुख चौधरीले हुलाकी राजमार्ग योजना कार्यालय प्रमुखसंग छिट्टै छलफल गरि फेरीपनि सो पुल किनारमा मर्मत नगरे गाउँपालिकाले नै मर्मत गने जानकारी दिए ।
दुई वर्ष अगाडी धनगढीदेखि कैलारी गाउँपालिको कटैनीसम्म बनेको हुलाकी राजमार्ग जिर्ण हुदै ठाउँ ठाउँमा खाल्डा खुल्डीले दैनिक जसो दुर्घटना निम्तिरहेको छ ।













