रेशम चौधरीलाई शपथ ग्रहण गराइदा तराई-मधेसमा दीपावली
धनगढी, १९ पुस । सांसद रेशम चौधरीलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको झण्डै १३ महिनापछि पद तथा गोपनीयताको शपथ ग्रहण गराएको खुशीयालीमा तराई मधेशमा विहीबार साँझ दीपावली गरिएको छ ।
कैलालीको निर्वाचन क्षेत्र नं. १ र ३ का स्थानीयहरुले आ–आफ्नो घरमा दीपावली गरेका छन् । निर्वाचनको मतपरिणाम घोषणा भएलगत्तै खुशयाली मनाउन नपाएका टीकापुरलगायतका स्थानीयहरु रेशमले शपथ ग्रहण गरेपछि खुशीयाली मनाइरहेका छन् ।
भजनी नगरपालिका–५ लालबोझीका स्थानीय रविलाल चौधरीले घर–घरमा खुशीयाली छाएको बताए । आफूहरुको जनमतको कदर भएको भन्दै उनले ढिलै भए पनि शपथ ग्रहण गराउन हिम्मत गरेको सरकारलाई धन्यवाद समेत दिए ।
नेपाली काँग्रेस कैलालीका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले शथप ग्रहण गराएर सरकारले राजनीतिक निकास दिएको बताए । अब चाँडै जेलमुक्त पारेर यो क्षेत्रको विकासका लागि राज्यले वातावरण मिलाउनुपर्ने उनको भनाइ छ ।
टीकापुरका कान्छु चौधरीले शपथ ग्रहण गराएको अवसरमा आफूहरुले उत्सव मनाइरहेको बताए । साथै यथासिघ्र चाँडै जेलमुक्त गरेर पूर्ण न्याय दिनुपर्ने उनको भनाइ थियो ।
जनकपुरमा पनि दीपावली
कैलालीको टीकापुर घटनासम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका राजपा नेपालका नेता रेशम चौधरीले बिहीवार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि जनकपुरमा दीप प्रज्वलन गरिएको छ ।

राजपा नेपाल धनुषा जिल्ला समितिले जनकपुरमा दीप प्रज्वलन गरेको हो । राजपा धनुषा जिल्ला अध्यक्ष मण्डलका सदस्य संजय सिंहको अगुवाइमा भएको दीप प्रज्वलन कार्यक्रममा राजपाका जिल्लास्तरीय नेताको सहभागिता थियो ।
संसद सचिवालयमा सभामुख कृणबहादुर महराले बिहीवार चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । त्यसलगत्तै उनलाई फेरि दिल्लीबजारस्थित केन्द्रीय कारागार चलान गरिएको छ ।













