सांसद रेशम चौधरीले लिए थारु भाषामा शपथ, शपथ लगत्तै पुनः जेल चलान

काठमाडौं, १९ पुस । कैलालीको टीकापुर हत्या काण्डमा मुछिएका राजपा नेता रेशम चौधरीले थारु भाषामा प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।

गतवर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित चौधरीले सभामुख कृष्णबहादुर महराबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

चौधरीले  थारु भाषामा शपथ लिएका छन् । शपथका लागि उनलाई डिल्लीबजार कारागारबाट सिधै सिंहदरबारस्थित संसद सचिवालय लगिएको थियो ।

२०७४ सालको मंसिरमा भएको निर्वाचनमा निर्वाचित भएपनि चौधरीलाई शपथको साइत भने करीब १३ महिनापछि मात्र जुरेको हो ।

टीकापुर प्रकरणमा प्रतिवादी रहेकै अवस्थामा चौधरीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गरेका थिए । निर्वाचनको बेला भारतमा भूमिगत रहेका चौधरी निर्वाचनमा विजयी भएपछि आफूविरुद्धको मुद्दाको प्रतिवाद गर्न कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए ।

शपथ लगत्तै रेशम पुनः जेल चलान

विहीवार संसद सचिवालयमा सांसदको शपथ ग्रहरणका लागि चौधरीलाई केन्द्रीय कारागारबाट सिधैं ल्याइएको थियो । सिंहदरबारमा ल्याइएका चौधरीलाई स्वागत गर्न राजपाका शीर्ष नेता, कार्यकर्ता, चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी, अन्य दलका सांसदहरु उपस्थित भएका थिए ।

शपथ ग्रहणमा आएका उनलाई खादा, अबीरले स्वागत गरिएको थियो ।

शपथ सकिएपछि उनी केही समय सिंहदरबारमा बसेका थिए । चौधरीले शपथ लिएकोमा नेता कार्यकर्ताबाट बधाइ लिएका थिए

पत्रकारहरुबाट घेरिएका चौधरीले टीकापुर घटनामा आफू निर्दोश रहेको र आफूले न्याय पाउने आशा व्यक्त गरेको बताएका थिए ।

उनको मुद्दा अदालतमा विचाराधिन रहेको भन्दै शपथ पछि चौधरीलाई पुन केन्द्रीय कारागार लगिएको छ । जेल लगिनुभन्दा पहिला चौधरीले भने शपथपछि सांसद लोगो लगाएर जेल लान मिल्छ ? भन्दै प्रश्न समेत गरेका थिए ।

यस्तो घटना खुमबहादुर खड्का जेलबाट निस्कदा भएको थियो । खड्का जेलबाट छुटेपछि कांग्रेस कार्यकर्ताले अबीर माला खादा लगाएर स्वागत गरेका थिए ।

त्यस्तै पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलल रिहा हुँदा पनि उनका समर्थकहरुले अबीर माला लगाएर स्वागत गरेका थिए । तर रेशम चौधरीको हकमा भने उल्टो दृश्य देखिएको छ । जेलबाट निस्कदा अबीर र खादा लगाएर स्वागत गरिने भएपनि चौधरीले जेल जाँदा खादा, माला र अबीरले ढाकिएका थिए ।