गैरसरकारी महासंघ प्रदेश समिति अध्यक्षमा खनाल
धनगढी, १८ पुस । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा देवीप्रसाद खनाल चयन भएका छन् ।
गैससले बुधबार धनगढीमा बसेको बैठकले खनाललाई अध्यक्षमा चयन गरेको हो । महासंघका प्रदेश समिति अध्यक्ष भवराज रेग्मी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इञ्चार्जमा निर्वाचित भएपछि रिक्त पदमा उहाँलाई उपाध्यक्षबाट बढुवा गरिएको हो ।

खनाल अध्यक्ष भएपछि उपाध्यक्ष पदमा बाजुराका नीर शाहीलाई चयन गरेको छ । त्यसैगरी बझाङका विरेन्द्र खड्कालाई प्रदेस समिति सदस्यमा चयन गरिएको छ ।
बैठकले संघीय र प्रदेश सरकारले निर्माण गरिरहेको गैरसरकारी संस्था सम्बन्धी कानुन गैरसरकारी संस्थामैत्री बनाउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सामाजिक मुद्दाहरुलाई समाधान गर्न छलफल, बहस र पैरवी गर्ने निर्णय गरेको बैठकमा सहभागी भएका गैरसरकारी संस्था महासंघका केन्द्र सचिव धर्मराज पाठकले बताए ।













