भादा होमस्टेलाई गुरु योजना अनुसार विकास गर्छौं : सांसद राना

धनगढी, १७ पुस । थारु होमस्टे गाउँ भादा महोत्सव २०७५ आज (सोमबार) देखि शुरु भएको छ । महोत्सबको उद्घाटन गर्दै सांसद नारदमूनि रानाले थारु होमस्टे गाउँ भादाको गुरु योजना अनुसार विकास गर्ने बताए ।

सांसद रानाले सो क्षेत्रको विकासको लागि सम्बन्धित निकायमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउदै कनरी बेहडा बाबा चौमाला सडकलाई कालो पत्रेकोलागि बजेट विनियोजन भईसकेको बताए ।

त्यसै गरि प्रदेश सांसद नेपालु चौधरीले भादा होमस्टेलाई पर्यटकिय विकासमा प्रर्वद्धन गर्न कोइलही ताल बेहडा बाबाको पनि विकास गर्न जरुरी रहेको बताए । उनले होमस्टेको स्तर उन्नतीको लागि बोली भाषा र सरसफाईमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताए ।

महोत्सवमा थारु परिकार ढिक्री, घोंघी, बरिया, फुलौरी, खेर्या, बंगुर तथा मुसाको सेकुवा गंगटो सिध्रा माछा, चरङगी माछा, आलुको अचार, पनझझरा, कचरीक बरिया, अण्डीको भात, महुँवको रक्सी, चामलको रक्सीको झोल लगायतको खानपीन स्वाद चाख्ना पाईन्छ ।

‘संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव पुस १७ गतेदेखि २१ गते सम्म चल्ने भएको छ ।