भादा महोत्सवको उद्घाटन सांसद नारदमूनि रानाले गर्ने

धनगढी, १६ पुस । थारु होमस्टे गाउँ भादा महोत्सव २०७५ को आठौं संस्करणको तयारी पूरा भएको छ ।

महोत्सवको उद्घाटन सांसद नारदमूनि रानाद्धारा हुने थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी नरायण चौधरीले जानकारी दिए ।

‘संरक्षण सम्बद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ शुरु हुन लागेको महोत्सव पुस १७ गतेदेखि २१ गते सम्म चल्ने भएको आयोजकले जानकारी दिए ।

महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको छ । उद्घाटन १ बजेर ३० मिनेटमा हुने अध्यक्ष चौधरीले जानकारी दिए ।

महोत्सवमा १० वटा गेट निर्माण भईसकेको र ३२ वटा स्टल बुकिंग भईसकेको थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका कोषाध्यक्ष पद्मा बहादुर चौधरीले बताए ।

उनले यो वर्ष काठले बनेको हिरोल्ना (सानो चर्खा) रहेको र समितिको नयाँ भवनमा थारु संग्रालयको अवलोकन गर्न सकिने बताए ।

महोत्सवमा थारु समुदायका महिलाहरुले बनाएको हात सिप जस्तै ढकिया, डेलुवा, लेहंगा, पनछोपनी, मचिया, हेल्का, डेलिया, सिकहर, हसिया, बेल्ना चौकी, लगायत घरायसी प्रायोजनमा प्रयोग हुने सामाग्रीको पनि अवलोकन गर्न सक्ने व्यवस्था रहेको छ ।

त्यसै गरि थारु परिकार ढिक्री, घोंघी, बरिया, फुलौरी, खेर्या, बंगुर तथा मुसक पकुवा, गेङटक पकौरी, सिध्रा, चरङगीक पक्ली, आलुक अचार, पनझझरा, कचरीक बरिया, अण्डी भात, महुँवक दारु, चौरक दारु, जा“र, जा“रके झोल लगायतको खानपीन गर्न सकिने आयोजकले जनाएको छ ।