उपचारको नाममा रेफर गरेर मुद्धा कमजोर पार्ने चलखेल : लक्ष्मण थारु
धनगढी, १५ पुस । थारु नेता लक्ष्मण थारु को स्वास्थ्यमा समस्या देखिएको चौथो सम्मपनि उपचारमा लापरवाही भईरहेको देखिएको छ । उनलाई उपचारको लागी काठमाडौ रेफर गरिएको छ ।
थारुका अनुसार ‘मेरो उपचारमा राजनीति भईरहेको छ । मलाई काठमाडौ रेफर गरिने भन्ने खबरले दुखी छु । उपचार सेति अञ्चल अस्पतालमै पनि राम्रोसंग गर्न सकिन्छ तर उपचारको नाममा रेफर गरिएर हाम्रो मुद्धा कमजोर पार्ने चलखेल भइरहेको छ।’
‘टीकापुर घटनाको अन्तिम साक्षी बकपत्र पेशी यहि पुस १९ गते हुदैछ, जसले गर्दा पेशी लम्ब्याउनलाई मेरो उपचारमा हेलचकराइ गरिएको हो ।’ दुखाई बढेपछि अस्पताल ल्याउछन् तर कहिले डाक्टर छैन त कहिले बेद छैन भन्दै पुनः कारागार लैजाने गरेको केर्नी न्यूज डटकमसंग नेता थाले दुखेसो पोखे ।
‘मेरो स्वास्थ्य अवस्था झन–झन बिग्रिदै गइरहेको छ, तर उपचारको लागि सामान्य चेकजाँच बाहेक केही भएको छैन । न्यूरो विशेषज्ञ डाक्टर काठमाडौबाट कैलालीमा आएर उपचार गरिरहेका छन्, तिनै डाक्टरको सल्लाहमा धनगढीमै मेरो उपचार हुनसक्छ । काठमाडौ रेफर गरेर उपचार गर्नुको भित्रि कुरो राजनीति लुकेको छ ।’
कारागार प्रशासनले नेता थारुको उपचारको लागि साँझा विहान र राती आवश्यकता अनुसार धनगढीस्थित सेति अञ्चल अस्पताल, कैलाली अस्पताल लगायत ठाउँमा स्वास्थ्य जाँचको लागि लग्दै आएको छ । तर उनको उपचारमा हुने ढिलासुस्ती र लापरवाहीले नेता थारु निराश भएका हुन् ।
शनिबारदेखि उनी केही औषधी खाईरहेको बताउदै औषधी लिएपछि चार घण्टा पुरै रेस्टमा हुने गरेको बताए ।
विहीवार रातीबाट उनको टाउको, कान र छाती दुख्ने समस्या देखिएको हो । धनगढीकै अस्पतालमा भर्ना गरि उपचार गरिदिन थारुले कारागार प्रशासनसंग अनुरोध समेत गरे ।
कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले नेता थारुको स्वास्थ्य अवस्थालाई गम्भिरतापूर्वक लिएर उपचारको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।
थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने टीकापुर घटना घटेको थियो । सो मुद्धामा नेता थारुसहित २६ जना हाल पुर्पक्षका लागि कारागारमा रहेको छन् । तर उनीहरुको मुद्धा अझै किनारा लाग्न सकेको छैन ।













