नेता लक्ष्मण थारु भन्छन् ‘मेरो उपचारमा लापरवाही हुदैछ’

धनगढी, १४ पुस । तीन दिनदेखि कैलाली कारागारमै थला परेका थारु नेता लक्ष्मण थारु आफ्नो स्वास्थ्य उपचारमा लापरवाही भईरहेको बताए ।

‘मेरो स्वास्थ्य अवस्था झन–झन बिग्रिदै गइरहेको छ, तर उपचारको लागि सामान्य चेकजाँच बाहेक केही भएको छैन ।’ थारुले केर्नीन्यूज डटकमसंग कुराकानीमा यस्तो बताए ।

कारागार प्रशासनले नेता थारुको उपचारको लागि दुई दिनदेखि धनगढीस्थित केही अस्पतालमा स्वास्थ्य जाँचको लागि लग्दै आएको छ । तर उनको उपचारमा हुने ढिलासुस्ती र लापरवाहीले उनको अवस्था बिग्रदै गएको हो ।

‘उपचारको लागि अस्पताल ल्याएपनि विशेषज्ञ डाक्टरसंग नदेखाई कारागार फर्काइयो न केही औषधी दिइयो न भर्ना नै गरियो ! स्वास्थ्य अवस्थामा केही सुधार आएको छैन, अब मलाई त्यतिकै मार्ने भए’ नेता थारुले भने ।

विहीवार रातीबाट टाउको, कान र छाती दुख्ने समस्याले उनी ग्रस्त छन् । स्वास्थ्य जाँचको लागि कारागार प्रशासनले शुक्रवार सेती अञ्चल अस्पताल लगेको थियो । पछि उनका आफन्तजनको आग्रहमा धनगढीकै जनता क्लिनिकमा स्वास्थ्य जाँचपछि कारागार फिर्ता गरिएको थियो । तर उनको अवस्था पुनः रातीदेखि बिग्रन थालेपछि उनलाई आज (शनिबार) धनगढीकै कैलाली अस्पताल लगिएको थियो । तर विना उपचार कारागार फिर्ता गरिएको नेता थारुको दुखेसो छ ।

‘मलाई अस्पताल त लगे । तर डाक्टर नआएपछि विना उपचार कारागारमै ल्याइयो ।’ नाटकीय ढंगले मेरो उपचार गरिनु भन्दा डाक्टरको निगरानीमै उपचार गरियोस् भन्ने माग समेत गरे ।

उता हाल काठमाडौंमै रहेका कैलाली कारागारका प्रमुख महेन्द खड्काले उनको उपचारमा कुनै कमी नगरेको जिकिर गरे । नेता थारुको स्वास्थ्य अवस्था समान्य रहेको समेत कारागार प्रमुख खड्काले प्रतिक्रिया दिए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले नेता थारुको स्वास्थ्य अवस्थालाई गम्भिरतापूर्वक लिएर उपचारको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । आवश्यक परे भोलि (आइतबार) काठमाडौं रेफर गर्ने प्रजिअ श्रेष्ठको भनाई छ ।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते ८ प्रहरी र १ नाबालकको ज्यान जाने टीकापुर घटना घटेको थियो । सो मुद्धामा नेता थारुसहित २६ जना हाल पुर्पक्षका लागि कारागारमा रहेको छन् । तर उनीहरुको मुद्धा अझै किनारा लाग्न सकेको छैन ।