अखण्डको नारा लगाएकै कारण टीकापुर घटना भएको होः संग्रौला
पोखरा, १२ पुस । साहित्यकार तथा स्तम्भकार खगेन्द्र संग्रौलाले अखण्डको नारा लगाएकै कारण टीकापुर घटना भएको बताए ।
पोखरामा आयोजित साहित्य सम्मेलनमा बोल्दै संग्रौलाले सो कुरा बताएका हुन् । संग्रौलाले टीकापुर घटनाबारे बोल्दै अखण्ड सुदूरपश्चिमको नारा लगाएकै कारण टीकापुर घटना भएको बताए ।
टिकापुरको त्यो भूगोलमा अखण्डको नारा थियो । एउटा नश्लले अखण्डको नारा लगायो । त्यो पृष्ठभूमिमा टिकापुरमा हिंसा भयो र केही प्रहरी अफिसर, एक बालक मारिए । उनीहरु सबै पहाडी थिए । त्यसपछि थारु समुदायमाथि राज्यले जघन्य हिंसा गर्यो । पसल लुटिए । घरमा आगो लगाइयो । महिलाहरुमाथि दमन भयो ।
संग्रौलाले भने ‘एउटा जातले अर्को समुदायमाथि हिंसा थोपार्दै, मान्छे मारेर रगतको खोलो बगाएर संविधान लेखिएको हो ।’ संविधान निर्माण प्रक्रियाको चर्चा गर्दा संविधान कसरी बन्यो ? एउटा जात वा नश्लले अर्को समुदायमाथि हिंसा थोपार्दै, मान्छे मार्दै, रगतको खोलो बगाउँदै संविधान बनाएको होइन ? उनले प्रश्न समेत गरे । संग्रौलाले अन्तरिम संविधानको विधी–प्रक्रिया उल्लंघन गरेर फास्ट ट्रयाक भन्दै ज्यादतिको बीचमा संविधान बनाइएको दाबी गरे ।
उनले भने ‘म यसकारण राष्ट्रवादी होइन’ शिर्षकमा आफ्नो मत राखेका थिए । उनले नेपालका मिडियाहरु पनि नश्लवादी भएको दावी गरे । प्रधानमन्त्री ओलीको राष्ट्रवाद बिखण्डनकारी भएको बताउँदै संग्रौलाले अगाडि भने, नश्लमा आधारित राष्ट्रवादले वर्ण, भाषा, धर्म, भूगोलका आधारमा कसैलाई श्रेष्ठ मान्छ कसैलाई तुच्छ मान्छ । नेपालमा ओलीको राष्ट्रवादले खस आर्य, पहाडवासी, हिन्दू धर्म मान्नेलाई श्रेष्ठ मान्छ ।
मधेसी थारु र महिलालाई तुच्छ मान्छ । यो राष्ट्रवादले अखन्ड नेपालको कुरा गर्छ । तर, सारमा बिखन्डनकारी छ । यसले आफ्नै देशका बन्धुहरुलाई राज्यको वृत्तबाट बाहिर राख्छ ।
नेपालको संविधान नश्लवादी र आपराधिक दस्तावेज भएको बताएका छन् । उनले देशको आधा जनसंख्यालाई असन्तुष्ट बनाएर खस आर्यहरुले बनाएको बताए ।
संग्रौलाले राष्ट्रवाद भनेको आफैंमा नश्लवादी चिन्तन भएकोले आफू राष्ट्रवादी नभएको बताए । उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका केपी ओली नश्लवादी भएको बताए । संग्रौलाले उनीहरुको राष्ट्रवादको स्रोत नश्लवाद भएको दाबी समेत गरे । राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन सत्रुको निर्माण गर्छ । ट्रम्पले अश्वेत र आप्रवासीलाई सत्रु बनाए । मोदीले पाकिस्तान र मुस्लिमलाई । अनि केपी ओलीले भारतीय विस्तारवाद र मधेसीलाई सत्रु बनाए संग्रौलाले भने ।
संग्रौलाले नेपाली मिडियाको पनि आलोचना गरेका छन् । उनले पहाडी मारिँदा मिडियामा कोलाहल मच्चिएको बताए । थारुहरु आर्य नभएकैले उनीहरुमाथि थोपरिएको हिंसाको चर्चा मिडियाले नगरेको आरोप पनि संग्रौलाले लगाए । त्यसैगरी मधेसीलाई बाहिर राखेर संविधान लेखिएको बताउँदै संग्रौलाले झण्डै ६० जना मधेसीको लाशमा टेकेर रक्तरञ्जित संविधिन निर्माण गरिएको बताए ।













