विदेशको कमाईले स्वदेशमा काठेपूल निर्माण
धनगढी, १२ पुस । कृष्णपुर नगरपालिका वडा नंं ९ का दुई जना यूवा मिलेर विदेशमा कमाएको पैसाले काठेपूल निर्माण गरेका छन् ।
मोहना नदीमा पुल नहुँदा ओहोर–दोहोरमा समस्या देखिएपछि स्थानीय विनोद भट्ट र ज्ञान वहादूर चौधरीले विदेशबाट कमाएर ल्याइएको पैसाले काठेपूल निर्माण गरेका हुन् ।
काठेपूल निर्माण कार्यमा १२ लाख रुपैयाँ लगानी लागेको उनीहरुको भनाई छ । स्थानीयलाई व्यापार–व्यवसायदेखि स्कुल आउन जानमा समस्या भईरहेको थियो तर काठेपूल बनेपछि सो समस्याको अन्त्य भएको बताउछन् राजघाटका दशरथ चौधरी । पुल बनेपछि एकदमै खुशी लागेको उनको भनाई छ ।
२०७१ सालमा निर्माणको जिम्मा लिएको केएस एडभेन्चर जेभीले तीन वर्षमै काम पुरा गर्ने प्रतिबद्धता गरेपनि ५ वर्ष बितिसक्दा समेत धनगढी–राजघाट नदीको पक्की निर्माणधिन अवस्थामै रहेको छ ।
आ.व २०७३/०७४ मा धनगढी–राजघाट जोड्ने पक्की पूल निर्माणका लागि १८ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम अपुग भएपछि पूल निर्माणको कार्य थप्प भएको निर्माण व्यवसायी चन्द्रशेखर मल्लले जानकारी दिए । उनले आवश्यक सामाग्री राखिसकिएको र निर्माणका लागि बजेटको व्यवस्था भएमा चाडैँ काम सक्ने बताए ।













