‘स्वरोजगारका रुपमा पत्रकारितालाई अंगालौं’

काठमाडौं, १२ पुस । क्रियाशील पत्रकार महिलाले स्वरोजगारका रुपमा पत्रकारितालाई अंगाल्दै आएका पत्रकार महिलाको समस्या, चुनौति र अवसरका विषयवस्तुलाई समेट्दै बुधबार सण्डे क्लब आयोजना गरिएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा स्वरोजगारमूलक पत्रिकाको हक, हित प्रवद्र्धन समितिका संयोजक गोविन्द चौलागाईले पत्रकार महिलाले संचालन गरेका संचारमाध्यमलाई राज्यले ध्यान दिनुपर्ने बताए । उनले राज्य कानून बनाउने चरणमा भएकोले पत्रकार महिलालाई स्वरोजगारमा प्रवद्र्धन गर्ने खालका कानून बनाउनु पर्ने, समानुपातिक विज्ञापन नीति अविलम्ब कार्यान्वयन गर्नुपर्ने बताउँदै प्रेस काउन्सिलले पत्रपत्रिकाको वर्गिकरण गर्दा महिलाहरुलाई प्राथमिकता दिंदै आएको बताए ।

कार्यक्रममा पत्रपत्रिका तथा अनलाईन संचालन गर्दैआएका सम्पादक प्रकाशक तथा पत्रकार महिलाहरुले आफ्ना समस्या राख्ने क्रममा आफूलाई विज्ञापनमा साह्रै समस्या भएको धारण व्यक्त गरेका थिए ।

महिला भन्ने वित्तिकै नकारात्मक व्यवहार गर्ने समस्या देश व्यापी रहेको उनीहरुको भनाई थियो । यस्तै, सानो लगानीमा स्वरोजगारको हिसाबले पत्रपत्रिका, अनलाईन संचालन गर्दा पनि बैंक स्टेटमेन्ट, भ्याट दर्ता, कामदारको विवरण जस्ता पक्षले काम गर्न हतोत्साहित पारेको उनीहरुको गुनासो थियो ।

कागजमा कर छुट, निःशुल्क इन्टरनेटको सुविधाजस्ता सानातिना सकारात्मक विभेदका कुराले पनि पत्रकार महिलालाई सम्पादकीय तहमा बसेर काम गर्न सहज हुने बताए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष अमिका राजथलाले सरकारको विज्ञापन नीति समानुपातिक नभएको बताइएन् । उनले पत्रकार महिलाको पेशागत दक्षता अभिवृद्धिका लागि तथा समानुपातिक विज्ञापन नीति लागू गर्नुपर्ने बताईन् ।

सम्पादकीय तहमा पत्रकार महिलाको प्रतिनिधित्व बढाउन प्रोत्साहन स्वरुप विभिन्न अध्यन, तालिम, भ्रमणको अवसर जुडाई दिन आग्रह समेत गरिन् ।

अध्यक्ष राजथलाले राज्यद्वारा संचालित समाचार समिति राष्ट्रिय समाचार समितिको समाचार महिला पत्रकारबाट संचालित संचारमाध्यमलाई निःशुल्क प्रयोग गर्न दिइनुपर्ने, मोफसलका पत्रकारलाई सहयोग गर्न प्रेस काउन्सिलले व्यवस्था गरेको मिडिया विकास कोषबाट काठमाडौं उपत्यकामा संचार माध्यम संचालन गर्ने पत्रकार महिलाको लागि पनि दिने व्यवस्था गर्नुपर्ने उल्लेख बताईन् ।

कार्यक्रममा विभिन्न पत्रपत्रिका तथा अनलाईन संचालन र सम्पादन गर्दै आएका पत्रकार महिलाको सहभागिता रहेको थियो ।