एक लाख धनराशी भएको पेनाल्टी सुटआउट १५ गते देखि टीम दर्ता हुने
धनगढी, १० पुस । हसुलियामा पुस ३० गतेदखि हुन लागेको थारु सांस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउटका लागि यहि पुस १५ गते देखि २५ गतेसम्म टीम दर्ता हुने भएको छ ।
थारु समुदायको नयाँ वर्ष एवम् महान पर्व माघीको अवसरमा हसुलियामा साँस्कृतिक प्रदर्शनी तथा पेनाल्टी सुटआउट हुन लागेको कार्यक्रमका मिडिया संयोजक अनत चौधरीले जानकारी दिए ।
प्रदर्शनीमा झुमरा, सखिया नाच, मुङ्ग्रहुवा नाच, धमार, मघौटा, राना थारु र कठरिया थारु होरी नाच लगायतका साँस्कृतिक कार्यक्रम समेत हुने आयोजक समितिका संयोजक पञ्चराम चौधरी बताए ।
परम्परागत थारु संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, हसुलिया बजारको प्रवद्र्धन गर्ने र स्वस्थ जीवनका लागि खेलकुद आवश्यक रहेको सन्देश छाड्ने उद्देश्यले कार्यक्रम गर्न लागेको चौधरीको भनाई छ ।
माघी पर्वलाई विशेष तथा उपलब्धीमूलक बनाउनका लागि कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ क्लब र हिमशिखर क्लब हसुलियाले पहिलो पटक साँस्कृतिक प्रदर्शनी गर्न लागेको हो ।
साँस्कृतिक टोली र पेनाल्टी सुटआउट टोली कैलारी गाउँपालिकाको नौ वटै वडा अध्यक्षहरुको समन्वयमा हरेक वडाबाट एक÷एक टोली आउने जनाइएको छ । साँस्कृतिक टोली गाउँपालिकाभित्रैबाट मात्रै समावेश गरिने तर, पेनाल्टी सुटआउट टोली बाहिरबाट पनि सहभागी हुन सक्ने संयोजक चौधरीले जनाए ।
कार्यक्रममा २० वटा साँस्कृतिक टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । यसैगरी, पेनाल्टी सुटआउट टोली ४० वटा रहने जनाएको छ ।
फुटबल पेनाल्टी सुटआउटमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद एक लाख एक हजार एक सय ११ रुपियाँ र उपविजेता टिमलाई ५१ हजार एक सय ११ रुपियाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । पेनाल्टी सुटआउटमा ३० वर्षभन्दामाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । कार्यक्रम आयोजनाका लागि नौ लाख ४९ हजार रुपियाँ बजेट खर्च हुने जनाइएको छ ।













