कैलारी गाउँपालिकामा थप तीनवटा झोलुड्डे पुल बन्ने तयारी : गापा अध्यक्ष

हसुलिया, ५ पुस । कैलारी गाउँपालिका क्षेत्रभित्र थप तीन वटा झोलुड्डे पुल बन्ने भएको छ ।

विभिन्न नदि तथा घाटमा बन्ने झोलुड्डे पुलको भर्खरै डिपिआरको कार्य सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष लाजुराम चौधरी गाउँपालिका क्षेत्र भित्रको विभिन्न नदी तथा घाटमा बन्ने झोलुड्डे पुलको लागि बुधबार मात्रै डिपीआरको कार्य सम्पन्न भएको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा वडा नं. ३ मोहना नदीको खोनपुर घाटमा ३५० मिटर लम्बाई रहेको झोलुड्डे पुल, वडा नं. ५ डम्मारा गाउँको कटैनी नदीमा १२० मिटर लम्बाइ भएको झोलुड्डे पुल र वडा नं. ९ मसुरिया जवनीपुर स्थित घुरहा नदीमा १४० मिटर लम्बाई भएको झोलुड्डे पुलको डिपिआरको कार्य सम्पन्न भएको अध्यक्ष चौधरीले जानकारी दिए ।

मोहना नदिमा झोलुड्डे पुल बनेपछि शिवरत्नपुर, खोनपुर, गोबरैला, हसुलिया, निमुवाबोझी, लालपुर, भडरी, मुडा लगायतका गाउँका र छिमेकी धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिकाका स्थानीयलाई पनि ओहोरदोहोरमा सहज हुने अध्यक्ष चौधरी विश्वास व्यक्त गरे ।

खोनपुर घाटमा झोलुड्डे पुल बनाउनका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
यता गाउँपालिकाको ८५ लाख आर्थिक सहयोगमा वडा नं. ८ लोहरपुर टेढीको कैटैनी नदीको १२० मिटर लम्बाई भएको झोलुड्डे पुल सञ्चालनमा आईसकेको अध्यक्ष चौधरी बताए । साथै संघिय सरकारको आर्थिक सहयोगमा वडा नं. २ रामपुर लक्कड, गापा ९ सिमरनाको घुरही नदि र देवीगन्ज सिटलपुर नदीमा बनेको झोलुड्डे पुल सञ्चालनमा आएको छ ।

फाईल फोटो

स्थानीयलाई ओहोरदोहोरमा समस्या भइरहेको जनगुनासोलाई मध्यनजर गरी गाउँपालिका क्षेत्र भित्रको विभिन्न नदी तथा घाटमा झोलुड्डे पुल निर्माण प्रक्रिया अगाडि बढाइएको अध्यक्ष चौधरीले बताए ।

डिपीआर तयार भएको पुल निर्माण भई सञ्चालनमा आए पछि गाउँपालिका भित्र झोलुड्डे पुलको संख्या सात पुग्ने छ । यस अघि गाउँपालिकाभित्र विभिन्न नदी तथा घाटमा चारवटा पुल सञ्चालनमा रहेको छ ।