जनयुद्धका घाइते आमरण अनसनको छैठौं दिन सम्म पनि सरकार बेखबर, स्वास्थ्य अवस्था नाजुक बन्दै

काठमाडौं, ३ पुस । जनयुद्धका घाइते तथा अपांग आमरण अनसनमा बसेको आज (मंगलबार) छैठौं दिन भइसकेको छ । गृहमन्त्रीका स्वकीय सचिव बिरु तमाङको संयोजकत्वमा बनेको सरकारी टोलीसँग भएको सहमति कार्यान्वयन नगरेको भन्दै जनयुद्धका घाइते पाँच दिनदेखि माइतीघरमा आमरण अनसन बसिरहेका छन् ।

मंसिर १३ गते भएको पाँच बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै जनयुद्धका घाइते तथा अपांगता संघर्ष समितिको अगुवाईमा उनिहरु आमरण अनसन बसेका छन् । दैलेख बडाभैरव–७ का नरवीर दमाई, तातोपानी–५ जुम्लाका वीरबहादुर परियार, धौलागोह–१ कालिकोटका संग्राम सार्की, सानोश्री–९ बर्दियाका लिलाचन्द्र सार्की, हाडीखोला–३ मकवानपुरका मंगलसिंह पुर्जा र सान्नी त्रिवेणी–६ कालिकोटका मनबहादुर दर्जी आमरण अनसन बसेका छन् । पूर्वजनमुक्ति सेनामा कार्यरत उनीहरु सबै जनयुद्धका क्रममा भएको विभिन्न लडाइँका मोर्चामा घाइते भएका थिए ।

मागहरु

जनयुद्धका घाइतेहरुले पाँच बुँदे माग राखेका छन् ।

१. गणतन्त्र सेनानीसहितको घाइते अपांगता परिचयपत्र राजपत्रमा उल्लेख गरी प्रदान गर्नुपर्ने ।

२. जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका घाइतेहरुलाई समय सान्दर्भिक जीवन निर्वाह भत्ताको ग्यारेण्टी गर्नुपर्ने ।

३.जनयुद्धको क्रममा घाइते भएका व्यक्तिहरुको पुनःअवलोकन प्रतिशत निर्धारण खारेज गर्नुपर्ने ।

४. जनयुद्ध तथा जनआन्दोलनको क्रममा घाइते तथा आपांगता भएका व्यक्तिहरुलाई औषधि उपचारको लागि तत्काल आर्थिक सहयाता प्रदान गर्नुपर्ने ।

५. घाइते तथा अपांगता भएका व्यक्तिहरुका बालबच्चालाई निःशूल्क उच्च शिक्षा र रोजगारीको व्यवस्था गर्नुपर्ने ।
यी मागहरु पूरा नभएसम्म आफूहरु बरु मर्ने तर अनसन नतोड्ने उनीहरुको बताएका छन् । अनसन बसेका ६ जनामध्ये सबै जना बोल्न नसक्ने भएका छन् । उनीहरुलाई सहयोग गरिरहेका अन्य सहकार्मीले उनीहरुको तर्फबाट प्रतिक्रिया दिनुपर्ने अवस्था छ ।

स्वास्थ्य अवस्था गम्भीर

अनसन बसेका सबैले दैनिक औषधि सेवन गर्नुपर्ने अवस्था हो तर अनसन बसेदेखि छुटेको छ । उनीहरुमध्ये नरवीर, संग्रामले खुट्टा गुमाएका छन् । दुबै जना बैशागीको साहरामा मात्र हिटडुल गर्न सक्छन् भने वीरबहादुर आँखा गुमाएका छन् । त्यसैगरी अन्य तीनजनाको टाउको र शरीरका अन्य भागमा गोलीका छर्रा छन् । टाउकोमा चोटका कारण अन्य भागका पनि असर देखिएका छन् ।

त्यहाँ पुगेका पत्रकारहरुसँग प्रतिक्रिया उठाउँदा नीरबहादुर बेहोस भएर ढले । करिब १५ मिनेटपछि आँखा हेरे । त्यस्तै अवस्था अन्यको हो ।
अनसन बसेका ६ जनाकै स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि घाइतेहरुकै आग्रहमा वीर अस्पतालबाट डाक्टरहरुको टीम आउने तयारी गर्यो । तर, प्रधानमन्त्री कार्यालयबाट माइतिघर गएपछि कारवाही गर्ने चेतावनी आएको भन्दै उक्त टीम आएन । अनसन बसेका घाइतेहरुलाई सहयोग गरिरहेकी संचारकर्मी आस्था केसीले उक्त पहल गरेकी थिइन् ।

वीर अस्पतालको टीम नआएपछि केसीले धापासीस्थित सुमेरु अस्पतालबाट डाक्टरको टीम आयो । सबैको स्वास्थ्य जाँच गर्यो । सबैको प्रेसर घट्दै गएको र मुटुको चाप तल माथि भइरहेको चिकित्सकले जानकारी दिए । खाना नखाएको र चिसो बढेका कारण उनीहरुको स्वास्थ्यमा जतिखेर पनि गम्भीर समस्या आउने चिकित्सकले जानकारी गराए ।

काठमाडौँका गल्ली,चोक, होटलदेखि सिंहदरबारमा जनयुद्ध लडेका माओवादी नेता–कार्यकर्ता भेटिन्छन् । तर माइतिघरमा पाँच दिनसम्म कोही पनि आउँदैनन् । केसीले आफूले धेरैलाई फोन गरेर बोलाएको तर कुनै नेताले पनि गम्भीरतापूर्वक नलिएको बताइन् । पूर्वमाओवादी नेता नारायणकाजी श्रेष्ठ, तिलक परियार, वाईसिएलका अध्यक्ष दीपशिखा, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तमाङ, युग पाठक, श्याम श्रेष्ठ, खगेन्द्र संग्रौलालगायतलाई फोन गरेर एक्येवद्धताको लागि आग्रह गरेको तर कोही पनि नआएको केसी बताउँछन् । दीपशिखाले आफूले माग पूरा गर्न नसक्ने भएकोले आउनु नआउनुको कुनै अर्थ नरहेको बताएको उनले बताइन् ।

अनसन नबसेका जनयुद्धका घाइते विश्वबहादुर कार्कीले एजिओको कार्यक्रम गर्दा सबै आउन तर आफूहरु सडकमै मर्ने अवस्थामा पुग्दा मानव अधिकार र सामाजिक अभियान्ताहरु नआएको भन्दै दुःख व्यक्त गरे । उनले आफूहरुलाई आदेश दिने कमाण्डर मन्त्री हुँदा पनि समस्या समाधान गर्नुको साटो प्रहरी लगाएर दमन गरिनु बिडम्बना भएको बताए ।

संघर्ष गर्छौंः गजुरेल

नेकपा क्रान्तिकारी माओवादीको नेता सीपी गजुरेल एक्यवद्धता जनाउन ३ बजेतिर माइतिघर पुगे । उनले आफूहरुले घाइतेको जीवन रक्षाको साथै उपचारको लागि पहल गर्ने बताए ।

नेता गजुरेलले जनयुद्धमा लड्न आदेश दिने नेताहरु सरकरमा भएको बेला घाइतेले आमरण अनसन बस्नुपर्ने अवस्था आउनु दुःखको कुरा भएको बताए । उनले प्रतिक्रान्ति हाबी भएकोले घाइतेसहित जनयुद्धका विषय सडकमा बेहारिसे भएको बताए । उनले आफूहरुले क्रान्ति जारी राखेको बताए ।

संयोजक गिरफ्तार

अनसन बस्नेकै दिन संघर्ष समितिका संयोजक युवराज बिकलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई केही दिन पहिले गृहमन्त्री रामबहादुर थापाकै अगाडि कुलप्रसाद भट्टराईलाई विष सेवन गर्न लगाएको आरोपमा बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

समस्याबारे छलफल गर्न गृहमन्त्रालय बोलाएर गिरफ्तार गरेपछि जनयुद्धका घाइते आक्रोसित भएका छन् । उनीहरुले समस्या समाधान गर्नुभन्दा पनि आफूहरुलाई तितर बितर गर्न दमनको नीति लिएको अर्का घाइते चन्द्रप्रकाश बिकले बताए ।

अनसनरत घाइतेहरुसँगको कुराकानीमा भट्टराईले कसैले दवावमा नभएर आफैले विष सेवन गरेको तर आफूलाई दवाव दिएर भन्न बाध्य बनाएको बताएका छन् । शनिबार साथीहरुसँग सम्पर्क रहेका भट्टराई अहिले कसैको पनि फोन उठाउँदैनन् । अनसन स्थलमा रहेका केही घाइतेहरुले भट्टराईलाई सरकारले पैसा र जागिरको आश्वासन दिएर आफूहरुविरुद्ध उभ्याएको आरोप लगाए ।

अनसन बसेका दुई जनाले चार महिना पहिलेदेखि खल्तीमा विष बोकेका थिए । उनले आफूहरु बाच्नु भन्दा मर्ने निष्कर्षमा पुगेको बताएका थिए । उनीहरुले उपचारमा ठूलो ऋण लागेको बताउँदै आएका थिए । उक्त ऋण तिर्न र उपचार गर्न नसक्ने अवस्थामा पुगेका कारण आफूहरु बाध्य भएर अनसनमा बस्नु परेको बताउँदै आएका छन् ।

पूर्वजनमुक्ति सेनाको एक्येवद्धता

हालै सरकारसँगको वार्तालाई भंग गरेको बहिर्गमित जनमुक्ति सेनाले अनसनप्रति एक्येवद्धता जाहेर गरेको छ । एक्येवद्धता जनाउँदै अनसनस्थल माइतीघरमा बहिर्गमित जनमुक्ति सेनाको पदाधिकारी उपस्थित थिए ।

सरकार बेखबर

उपचार जस्तो समान्य माग राखेर जनयुद्धका घाइते आमरण अनसन बसको पाँच दिन भइसक्दा पनि सरकारले कुनै वास्ता गरेको छैन । उनीहरुका मागले सरकारलाई छोएको छैन ।

माइतीघर सिंहदरबारबाट नजिकै छ । मन्त्रीहरु त्यहीबाट विहानदेखि साँझसम्म ओहोर दोहोर गर्छन् । उनीहरु घाइतेलाई नहेरेरै हुइकिन्छन् । जसको बलमा गणतन्त्र आएको उनीहरु नै आमरण अनसन बस्दा पनि सरकार बेखबर छ ।