कैलारी गापाले भ्रमणमै खर्चेयो ६ लाख
धनगढी, २ पुस । कैलालीको कैलारी गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु ६ लाख बजेट विनियोजन गरि भ्रमणमा निस्केका छन् ।
गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौंवाको नेतृत्वमा, कार्यालयका प्रम’ख प्रशासकीय अधिकृत धर्मानन्द भट्टसहित करिब ३० जना कर्मचारी र जनप्रतिनिधिहरुको टोली मुलुकभित्रैको केहि स्थान र केहि भारतका स्थानको भ्रमणमा निस्केको हो ।

फोटो फेसबुकबाट
प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द भट्टले मुलुकभित्रको इलाम, जनकपुर, भारतको दार्जिलिङलगायत ठाउँमा एक हप्ते अवलोकन भ्रमणमा निस्केको बताए ।
यता वडा अध्यक्षलगायत जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा निस्केपछि वडा कार्यालय र गाउँपालिका कार्यालयको दैनिक काम कारवाही ठप्प भएका छन् ।

फोटो फेसबुकबाट
गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले त्यहाँका विकास निर्माण, सामाजिक विकास संरचनाहरुको स्थलगत अनुगमनको लागि भ्रमण गएको बताए ।
अन्य आवश्यक कर्मचारी कार्यालयमै रहेकोले काम भने सुचारु नै रहेको अध्यक्ष चौधरीले बताए । गाउँपालिकाले भ्रमणको लागि ६ लाख रकम बिनियोजन गरेको छ । देश बाहिर घुम्न जानेले आफनो खर्चको जोहो आफै गर्नुपर्ने उनको भनाई छ ।













