हसुलियामा पहिलो पटक साँस्कृतिक प्रदर्शनी हुने

धनगढी, १ पुस । थारु समुदायको नयाँ वर्ष एवम् महान पर्व माघीको अवसरमा कैलारी गाउँपालिका स्थित हसुलिया बजारमा साँस्कृतिक प्रदर्शनी हुने भएको छ ।

माघी पर्वलाई विशेष तथा उपलब्धीमूलक बनाउनका लागि कैलारी गाउँपालिकाको सहकार्यमा मल्टी यूथ युवा क्लब र हिमशिखर क्लब हसुलियाले पहिलो पटक साँस्कृतिक प्रदर्शनी गर्न लागेको हो । उक्त कार्यक्रम पुस ३० गते थारु बहुल क्षेत्र हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा आयोजना गरिने मूल आयोजक समितिले आइतबार विहान धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । साँस्कृतिक प्रदर्शनीसंगै फुटबल पेनाल्टी सुटआउटको कार्यक्रम समेत गर्ने आयोजकले जनाएको छ ।

‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिने कार्यक्रममा परम्परागत र आधुनिक झुमरा, सखिया नाच, मुग्रुहुवा नाच, धमार, मघौटा, राना थारु र कठरिया थारु होरी नाच लगायतका साँस्कृतिक कार्यक्रम रहने पत्रकार सम्मेलनमा जनाइएको छ ।

परम्परागत थारु संस्कृतिको संरक्षण तथा प्रवद्र्धन, हसुलिया बजारको प्रवद्र्धन गर्ने र स्वस्थ जीवनका लागि खेलकुद आवश्यक रहेको सन्देश छड्ने उद्देश्यले कार्यक्रम गर्न लागेको मूल आयोजक समितिका संयोजक पञ्चराम चौधरीले बताए ।

कार्यक्रममा २० वटा साँस्कृतिक टोलीको सहभागिता रहने, पेनाल्टी सुटआउट टोली ४० वटा रहने जनाएको आयोजकले जनाएको छ ।

फुटबल पेनाल्टी सुटआउटमा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद एक लाख एक हजार एक सय ११ रुपियाँ र उपविजेता टिमलाई ५१ हजार एक सय ११ रुपियाँ पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । पेनाल्टी सुटआउटमा ३० वर्षभन्दामाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

साँस्कृतिक टोली र पेनाल्टी सुटआउट टोली कैलारी गाउँपालिकाको नौ वटै वडा अध्यक्षहरुको समन्वयमा हरेक वडाबाट एक÷एक टोली आउने जनाइएको छ । साँस्कृतिक टोली गाउँपालिकाभित्रैबाट मात्रै समावेश गरिने तर, पेनाल्टी सुटआउट टोली बाहिरबाट पनि सहभागी हुन सक्ने संयोजक चौधरीले जनाए ।

थारु समुदाय संंस्कृतिको धनी रहे पनि बाह्य संस्कृतिको प्रभाव पर्दै गएकाले आफ्नो पहिरन, संस्कृतिप्रति सबैको गर्व हुन आवश्यक रहेको संयोजक चौधरीले बताए ।

‘राम्रा संस्कृतिको प्रवद्र्धनका लागि हामी सो गाउँपालिकामा जन्मेर विभिन्न क्षेत्रलाई कार्यथलो बनाएका युवाहरुको जमर्कोमा यो कार्यक्रम गर्न लागेका हौं’, उनले भन ‘यसले विशेष खालको सन्देश समुदायमा पुग्ने विश्वास लिएका छौं ।’
कार्यक्रम आयोजनाका लागि नौ लाख ४९ हजार रुपियाँ बजेट खर्च हुने जनाइएको छ ।