गौरीगंगा नगरपालिकामा ७५ प्रतिशत बालविबाह !

धनगढी, २८ मंसिर । गौरीगंगा नगरपालिकाले जीपिएस प्वाइन्टबाट गरेको प्रारम्भिक सर्बे अनुसार ७५ प्रतिशत बालबिबाह भएको उपप्रमुख अन्चला चौधरीले जानकारी दिइन् ।

नगरपालिका भित्र हालसम्म विबाह भएको सबै मानिससंग सोधेर निकालेको तथ्यांक अनुसार सबै भन्दा बढि १३ देखि १५ वर्षको उमेरमा बिवाह गरेको देखिएको चौधरीले बताइन् ।

उनले बाल विबाह न्यूनिकरण गर्न नगरपालिकाले कार्ययोजना बनाउने तयारी गरिरहेको बताउदै कार्ययोजना निर्माणगर्दा संघसंस्थासंग सहकार्य गर्ने प्रतिबद्धता गरिन् ।

बिहीबार ओरेक नेपालले आयोजना गरेको बाल विबाह विरुद्धको कार्ययोजना निर्माणका लागि सरोकारवालहरुसंगको छलफलमा चैधरीले प्रतिबद्धता जनाईन् ।

बालबिबाहको संख्यामा बृद्धि भएको कारण लागु औषध दुव्र्यसनी बढ्नु, परिवार परिपक्व नहुनु, घरेलु हिंसा बढ्नु, विचमै पढाई छोड्नु आदी समस्या नगरपालिकामा देखिएको उपप्रमुख चौधरी बताईन् ।

त्यस्तै ओरक नेपाल केन्द्रिय कार्यलयका महिला हिंसा विरुद्धको अभियानका संयोजक सन्जिता तिमिल्सेनाले नेपालमा १० प्रतिशत बालिकाहरुको १५ वर्ष भन्दा कलिलो उमेरमा र ३७ प्रतिशत बालिकाहरुको १८ वर्षमुनिको उमेरमा विवाह हुने गरेको तथ्याक रहेको बताईन् ।

बालविवाह हुने दक्षिण एसियाली मुलुक बंगलादेश र भारतपछि तेस्रो स्थानमा रहेको बताउदै १५ देखि १९ वर्षको उमेरमा १७ प्रतिशत किशोरीहरु आमा बनिसकेको र यो अनुपात बढ्दो क्रममा रहेको बताईन् ।

१५ वर्षमा बच्चा जन्माउने किशोरीको संख्या २ प्रतिशत र १९ वर्षमा बच्चा जन्माउने किशोरीको संख्या ३६ प्रतिशत रहेको र करिब २६ प्रतिशत महिलाहरु पाठेघर खस्ने समस्याबाट पीडित रहेको केन्द्रिय तथ्यांक रहेको तिमिल्सेनाको भनाई छ ।

गौरीगंगा नगरपालिकाका प्रमुख भिम देउवाको अनुसार प्रारम्भिक सर्बे अनुसार देखिएको तथ्याकलाई मध्येनगर गर्दै नगरपालिकाले बालबिबाह न्यूनिकरणकोलागि छिट्टै कार्ययोजना तयार गर्ने बताए ।

उनले नगरपालिकालाई भौतिक विकास तिर मात्रै उन्मुख नगरि समाबेशी विकासको लागि बजेट विनियोजन गरेको बताउदै मानविय विकास विना भौतिक विकास पनि असम्भव रहेको दाबी गरे ।

देउवाले नगरपालिकालाई सभ्य नगरपालिका बनाउन परिपक्व भएर भएर बिबाह गर्ने रणनीतिका साथ कार्ययोजना बनाउने तयारी भइरहेको बताए । उनले बालबिबाह न्यूनिकरण सम्बन्धी सचेतीकरण गर्ने, सडक नाटक, यौन शिक्षा सम्बन्धी जानकारी गराउने योजना रहेको बताए ।