निर्मला घटनामा प्रमाण नष्ट गर्ने विरुद्ध फौजदारी मुद्धा लगाउँछौ : डा. केसी

धनगढी, १६ मंसिर । डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको प्रमाण नष्ट गर्ने विरुद्ध फौजदारी अभियोग लगाएर कारवाही गर्नुपर्ने बताएका छन् । प्रमाण गर्ने विरुद्ध मुद्धा नलगाएसम्म सत्यतथ्य बाहिर नआउने बताउँदै उनले सो कुरा बताएका हुन् । जसको लागि आफु अग्रसर हुने पनि उनको भनाई छ ।

निर्मला पन्तको न्यायको लागि भन्दै कञ्चनपुरमा जारी अनसनलाई ऐक्यवद्धता जनाउन आएका केसीले आज (आइतबार) धनगढीमा स्वास्थ्य पत्रकार समूह सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित पत्रकार भेटघाटमा केसीले सरकारले नै अपराधीलाई संरक्षण दिइरहेको आरोप लगाए । निर्मला पन्तको घटनाले ३ करोड नेपालीलाई नै लज्जास्पद बनाएको बताउँदै उनले राज्यबाटै प्रमाण नष्ट भएकाले राज्यले गरेको ठूलो अपराध रहेको समेत आरोप लगाएका हुन् ।

त्यस्तै, डा. केसीले राज्यबाट उपेक्षित भएकोले सुदूरुपश्चिमको स्वास्थ्य अवस्था दयनीय बनेको बताए । यहाँका गरिब निमुखा जनता विरामी भए नजिकमा प्रभावकारी स्वास्थ्य सेवा दिने स्वास्थ्य संस्था नभएको कारण अझै पनि बाहिर जानुपर्ने बाध्यता रहेको बताए । निर्माणको कार्यमा तिव्रता पाएको गेटा मेडिकल कलेजले धेरै हदसम्म यहाँको स्वास्थ्य समस्या समाधान हुनेमा विस्वास व्यक्त गरे । जसलाई २ वर्षमा सञ्चालनमा ल्याउनुपर्ने उनको भनाई थियो ।

उनले सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रको लागि डोटी या डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्नमा सरकारले तत्परता देखाउनुपर्ने बताए । डोटी या डडेल्धुरामा स्थापनाको लागि समझौता गरिएपनि कार्यान्वयन नभएको प्रति उनले असन्तुष्टि जनाए ।