चलिरहेछन् अभियान

यहाँ चलिरहेछन् अभियानहरू
चलिरहन्छन् अभियानहरू
आमा कुटिईरहन्छिन् बोक्सीको आरोपमा
कुनामा पसेर पछ्यौरीले मुख छोपेर रुँदै छिन्,
बहीनी तड्पदैछिन् काला कोठरीमा
दिदी रुँदै सडकमा न्यायका लागि भौतारिदैछिन्
अनि, पल्लो घरकी कान्छिलाई
काठमाडौं भन्दै कुबेत पुर्याएछ दलालले,
माथिल्लो घरकी १३ वर्षीया बाटुली
बलात्कारको शिकार हुन पुगेछिन् ।

यहाँ शहरहरूमा चलिरहेछन् अभियानहरू
उता बिकट दूर दराजकी एक महिला
छाउ गोठमै मृत भेटिईन रे !
प्रशब पिडाले छट्पटिरेहकी काली दिदीको
समयमा उपचार नभएर मृत्यु भयो रे !
उता पल्लो गाउँकी मालती परियार
धारामा पानी थाप्न जाँदा कुटिईन् रे
के दोस थियो उनको ?
किन उनलाई दलितको संज्ञा दिईयो !
उनको पनि त रगत रातै थियो
उनि पनि त आम मानिस नै थिईन ।
किन असमानता ? किन भेदभाव ?
राज्य ? कहाँ छ र राज्य ?
न्याय ? कहाँ छ र न्याय ?

यहाँ चलिरहेछन् अभियानहरू
जलिरहेछन मनहरू, तड्पिरहेछन्
खोजिरहेका छन् आफ्ना अस्मिता बचाउन
तर विडम्वना चल्छन् अभियानहरू
सकिन्छन् अभियानहरू
सकिदैनन बेदना र चित्कारहरू
दानबहरूले मानवको रुप धारण गरेका छन्
आफ्नै छोरीमाथि गिद्धे दृष्टि लगाउँछन्
रोक यस्ता हिंसाहरू
चलिरहेछन् अभियानहरू
यहाँ अझैं चलाइनेछन् अभियानहरू ।