थापा हत्या प्रकरण : दोषीलाई कारवाही माग गर्दै कैलाली बन्दको घोषणा
कैलाली, ३ मंसिर । धनगढीको उत्तरबेहडीका युवक विजय थापाको हत्यारा सार्वजनिक गर्न माग गर्दै कैलाली बन्दको घोषणा गरिएको छ ।
हत्या प्रकरणमा पीडितले दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै भोलि बिहान ७ बजे देखि कैलाली बन्दको घोषणा गरिएको हो । प्रहरीले अनुसन्धानमा लापर्वाही गरेको भन्दै विजय थापा न्यायिक संघर्ष समितिले बन्दको घोषणा गरेको हो ।
विभिन्न कारण देखाएर घटनालाई मोड्ने प्रयास भइरहेको भन्दै आन्दोलनको घोषणा गरेको संघर्ष समितिले जनाएको छ । थापा न्यायिक संघर्ष समितिका देवराज जोशीले दोषीलाई सार्वजनिक नगरुन्जेलसम्म आफूहरुको आन्दोलन र आमहड्तालको कार्यक्रम जारी रहने बताए ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले दोषी जो भए पनि कारबाही गरिने बताए ।
दोषीलाई सार्वजनिक गर्न माग गर्दै चौराहदेखि जिल्ला प्रशासन कार्यालयसम्म पीडित परिरवारसहितको न्यायिक संघर्ष समितिले प्रदर्शन गरेका थिए । शुक्रबार राति ९ बजे धनगढी उपमहानगरपालिका–४, प्रदेश प्रमुखको कार्यालय नजिकै स्थानीय विजय थापाको हत्या भएको थियो ।













