न्यूयोर्कमा पत्रकार मच्छेदेवी सम्मानित
न्यूयोर्क । अमेरिकाको न्यूयोर्क सिटीद्वारा नेपाल अमेरिका पत्रकार संघ नेजाका कोषाध्यक्ष तथा पत्रकार मच्छेदेवी गुरुङसहित ६ नेपाली सम्मानित भएका हुन् ।
अमेरिकाको न्यूयोर्कबाट प्रकाशन हुँदै आएको लोकप्रिय नेपाली पत्रिका एभरेष्ट टाइम्स १० वर्ष पुरा भई ११ औ वर्षमा प्रबेश गरेको अवसरमा आयोजित दशौं वार्षिकोत्सव कार्यक्रममा न्यूयोर्क सिटी काउन्सिलको तर्फबाट काउन्सिलका सदस्य कोष्टा कोन्टनडिजले नेजाका कोषाध्यक्ष गुरुङसहित ६ जनालाई सम्मान पत्रले सम्मान गरेका थिए ।
न्यूयोर्कको क्वीन्सस्थित बेलेजिनो हलमा आयोजित कार्यक्रममा काउन्सिल मेम्बर कोष्टाले, अमेरिकामा नेपाली समुदायको सेवासंगै एक दशकदेखि एभरेष्ट टाइम्सले समुदायमा पु¥याएको सेवाप्रति निकै खुसी भएको बताउँदै कोषाध्यक्ष गुरुङसहित तेम्बा दोङमा हयोल्मो, नेत्र तामाङ, इन्दीरा चोङबाङ, पासाङ नुर्बु शेर्पा र रोज मोक्तानलाई सम्मान पत्र वितरण गरेका थिए ।
मच्छे गुरुङले लामो समयदेखि पत्रकारिता मार्फत शासन संरचना, राजनीतिमा महिलाको सहभागिता र महिला अधिकारका बिषयमा आवाज उठाउँदै आएकी छन् ।
रेडियो सगरमाथामा महिला अधिकार र महिलासँग सम्बन्धित शिक्षा, स्वास्थ्य, रोजगारीमा महिलाको पहुँच र असल शासन र कानुनी सहायता सम्बन्धी विभिन्न बिषयमा सैयौं कार्यक्रम सञ्चालन गरेकी गुरुङ हाल अमेरिकाबाट प्रकाशित एभरेष्ट टाइम्स पत्रिकासँग आवद्ध छिन् ।
यसैबीच, काउन्सील मेम्बर कोष्टाले एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पालाई विशेष सम्मान गरेका थिए । १० वर्षदेखि अमेरिकी नेपाली समुदायमा एभरेष्ट टाइम्स पत्रिका मार्फत प्रधान सम्पादक शेर्पाले गरेको योगदानको कदर गदै न्यूयोर्क सिटिबाट यो सम्मान गरेको काउन्सिल सदस्य कोष्टाले बताए ।
यसैबीच, नेपाली काउन्सुलेटका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले एभरेष्ट टाइम्सले प्रवासमा नेपाली भाषा, धर्म र सस्कृतिको संरक्षणको लागि महत्वपुर्ण योगदान पु¥याउदै आएकोमा प्रशंसा गरेका थिए । कार्यक्रममा एभरेष्ट टाइम्सले दशौ वर्षको अवसर पारेर प्रकाशित विशेषांक पुस्तिकाको प्रमुख अतिथि भट्टराईले विमोचन गरेका थिए ।













