पेटछाती जोडिएकी जुम्ल्याहा बच्चाको जन्म

कालिकोट । कालिकोट जिल्ला रास्कोट नगरपालिका ५ का ललिता बुढाले पेट र छाती जोडिएका जुम्ल्याहा बच्चा जन्माएकी छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पेट र छाती शरिर जोडिएका जुम्ल्याहा बच्चाको जन्म दिएका हुन् ।

कर्णाली प्रदेश अस्पतालमा सुर्खेतमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट काजमा रहेका डा. राजीव शाह नेतृत्वमा डा. रवीन खातुङ र डा. महेश पौडेल, बुढाको शल्यक्रिया गरेर जुम्ल्याहा बच्चाको जन्म दिएका हुुन ।

शल्यक्रिया गरेर जुम्ल्याहा बालिकाको जन्म दिइएको र उनीहरुको अवस्था सामान्य रहेको थप केही नहोस भनेर आइसियुमा राखिएको डा. शाहले बताए । ‘जन्म भएका दुबै बालिका हुन् ।’ उनले भने,‘उनीहरुको अवस्था सामान्य रहेको छ ।’

जुम्ल्याहा बच्चाहरुको कलेजोको भाग टाँसिएको र मुटु पनि जोडिएको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

ललितालाई कालिकोट जिल्ला अस्पतालमा केही दिन राखेर जिल्ला अस्पताल कालिकोटले कर्णाली प्रदेश अस्पतालमा रिफर गरेको पति विर्खबहादुर बुढाले बताए । ‘जिल्ला अस्पताल कालिकोटमा केही दिन उपचार गरेर प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो ।’ उनले भने,‘यो नेपालमा घट्ने दुर्लभ घटना भएको डाक्टरहरुले बताएका छन् ।’