माघ १९ गते देखि धनगढीमा डीपीएलको तेस्रो संस्करण हुने घोषणा

कामाण्डौं, ३० कार्तिक । रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल) टी(२) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगामी माघ १९ गतेदेखि फागुन ४ गतेसम्म धनगढीमा हुने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमी ९डीसीए०ले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रतियोगिता घोषणा तथा मुख्य प्रायोजन सम्झौता कार्यक्रम गरेको हो । अनुमानित लागत ५ करोड रुपैयाँ रहेको प्रतियोगितामा देशभरका ६ वटा फ्रेन्चाइजी टोलीको सहभागिता रहनेछ ।
डीसिएका अध्यक्ष सुवाश शाहीका अनुसार डीपीएलको दोस्रो संस्करणमा सहभागी टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स टोलीलाई प्राथमिकता दिइनेछ । तर, टोलीको घोषणा भने छिट्टै गरिने उनले बताए ।

डीपीएलका प्रत्येक टिममा १५—१५ खेलाडी हुनेछन् । त्यसमा दुई बिदेशी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमका एक खेलाडी प्रत्येक टिममा अनिवार्य समावेश गर्नुपर्ने प्रावधानलाई निरन्तरता दिइएको छ ।

प्रतियोगितामा कुल १९ खेल हुनेछन् । प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

यसैबीच गत संस्करणको मुख्य प्रायोजक विजय डिस्टिलरीको रुस्लान क्रिकेटले डीपीएललाई मुख्य प्रायोजनको निरन्तरता दिएको छ । आगामी तीनवर्षका लागि रुस्लानले डीसिएसँग मुख्य प्रायोजन सम्झौता गरेको हो । सम्झौता अनुसार प्रत्येक वर्ष सम्झौता रकम बढ्दै जानेछ ।

शुक्रबार नै विजय डिस्टिलरी र डीसिएकाबीच मुख्य सम्झौता पत्रमा हस्ताक्षर भयो । विजय डिस्टिलरीका मुख्य फाइनान्स अधिकृत सतीस कर्ण र डीसिएका अध्यक्ष शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार मुख्य प्रायोजक वापत विजय डिस्टलरीले यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाख रुपैयाँ आयोजकलाई दिने भएको छ ।

देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण सम्पन्न गरिएको थियो । डीपीएल देशमै पहिलोपल्ट अक्सन गराउने प्रतियोगिता पनि हो ।

डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो । पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो ।

पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो र कुल पुरस्कार २८ लाख ५० रुपैयाँ थियो । यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाखसहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो ।