आफूलाई बर्खास्त गर्नुको कारण थाहा छैनः सोडारी

धनगढी, २७ कात्तिक। सुदूरपश्मि प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले आफूलाई पदबाट बर्खास्त गर्नुको कारण थाहा नभएको बताएका छन् । पार्टीले मन्त्री पदबाट हटाएको जानकारी पाएको तर कारण थाहा नभएको उनले बताए ।

बर्खास्त भएपछि छोटो प्रतिक्रिया दिँदै सोडारीले संचारमाध्यमा आएका कुराबारे पार्टीले कहिलै पनि आफूसँग छलफल नगरेको सोडारी भने । उनले आफूलाई हटाउनुको कारण केन्द्रीय अध्यक्ष र प्रदेश इन्चार्जलाई समेत थाहा भएको बताए । “पार्टीले किन हटायो ? मलाई कुनै जानकारी छैन । त्यो केन्द्रीय अध्यक्ष र प्रदेश इन्चार्जलाई थाहा होला, उहाँहरुलाई नै सोध्नु होला” पूर्वमन्त्री भइसकेका सोडारीले भने ।

तत्कालिन नेकपा एमालेको कैलाली जिल्ला अध्यक्ष समेत रहेका सोडारीले आफूले पार्टीको निर्देशनको कहिलै पनि उलंघन नगरेको र नैतिक तथा जिम्मेवार भएरै जिम्मेवारी पूरा गर्दै आएको बताए ।

(नेकपा)का प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार सोडारीलाई पदबाट बर्खास्त गरेका थिए । उनीमाथि पद अनुकल आचरण नगरेको र पार्टीको सुझावलाई बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि मात्रै मन्त्री सोडारीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो ।