फाप्लालाई थ्रि पी मोडेलमा लैजानुपर्छ  : नगरप्रमुख वड

धनगढी, २७ कातिक । फाप्लालाई पब्लिक प्रभाईभेट पाटनर्र सिप (थ्री पी) मोडेलमा लगेर निर्माण गर्नुपर्ने धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बताए ।

मंगलवार संस्कार क्रिकेट एकेडेमीले आयोजना गरेको तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख वडले यस्तो बताएका हुन् ।

स्थानीय तह र प्रदेश सरकारले बिनियोजन गर्ने बजेटले मात्रै समयमा फाप्लालाई अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन नसक्ने उनको भनाई थियो । थ्रि पी मोडेलमा लैजादा समयमा मैदान तयार गर्ने योजनामा सरकारले रकम बिनियोजन गरेको प्रमुख वडले भने ।

संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले नगरप्रमुखले हरेक कुरामा अभिभावकत्वको भूमिका निभाएको बताए । कैलाली बहुमुखी क्याम्पसका प्रमुख पदमराज जोशीले धनगढीलाई खेदकुदको हवको रुपमा विकास गर्न सक्ने प्रसस्त सम्भावना रहेको बताए ।

प्रतियोगितामा कैलालीका ६, कञ्चनपुरका २, बाँके, काठमाडौ र भत्तरपुरका १÷१ गरि १२ वटा टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई विभिन्न ४ समूहमा राखेर प्रतिस्पर्धा गराईनेछ भने प्रत्येक समूहको विजेता टोली सेमीफाइनल खेल्नेछन ।

सेमिफाइनल खेल मंसिर ३ गते हुनेछ भने फाईनल खेल मंसिर ४ गते हुनेछ । संघीय प्रहरी कार्यालय प्रदेश नम्वर ७ को खेल मैदानमा हुने प्रतियोगितामा सहभागि टिमले सम्बन्धित विद्यालयका विद्यार्र्थी खेलाडी बाहेक ५ जना बाहिरबाट १९ वर्षमुनिका खेलाडी पनि राख्न पाउनेछन् ।

प्रतियोगितामा काठमाण्डौंका २, भक्तपुरको १, नेपालगंजको १, कञ्चनपुरका २ र धनगढीका ६ गरी देशभरका १२ टिम सहभागी छन् ।प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले बताए ।