आमा र शिशु बचाउन ‘मामाको नाताले’ लेखिएको झोला वितरण

धनगढी, २० कात्तिक । सफा सुनौलो नेपाल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले संयुक्त रूपमा आयोजना गरेको मिडवाईफरी तीन दिने तालिममा स्वास्थ्य सामग्री वितरण गरिएको छ ।

नवजात शिशु र सुत्केरीको जीवन रक्षाका लागि १८ स्वास्थ्य संस्थाहरूलाई उपचार सामग्री वितरण गरिएको हो । हेल्पिङ्ग बेबिज ब्रिथरहेल्पिङ्ग मदर्स सरभाइभ (बेब) कार्यक्रमले ‘मामाको नाताले’ लेखिएको झोला उपलब्ध गराएको हो ।

शिशु जन्माउने क्रममा महिलामा हुने रक्तश्राव रोक्ने, शिशु जन्माउन मद्दत गर्ने उपकरण तथा सामग्री भएको झोला सुत्केरीको जीवन रक्षाका लागि र जन्मिने बेला शिशुलाई स्वासप्रस्वास गर्न तथा आमाको गर्भबाट सुरक्षित रूपमा बाहिर आउन मद्दत गर्ने उपकरण तथा सामग्री भएको झोला शिशुको लागि उपलब्ध गराइएको हेल्पिङ्ग बेबिज ब्रिथरहेल्पिङ्ग मदर्स सरभाइभ (बेब) कार्यक्रमका संयोजक रञ्जन ढुंगानाले बताए ।

कार्यक्रमका संयोजक ढुंगानाका अनुसार सुत्केरीका लागि प्रयोग हुने झोलामा ६० हजार र शिशुको लागि प्रयोग हुने झोलामा ३५ हजार रुपैयाँ बराबरको सामग्री राखिएको छ । तालिममा प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १८ संस्थाका ४२ जनाको सहभागिता रहेको थियो ।

ल्याटर डे स्यान्ट च्यारिटिजको प्राविधिक सहयोगमा आयोजित तालिमको सामापन समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले सो सामग्री स्वास्थ्य संस्थाहरूलाई हस्तान्तरण गरेका थिए ।

तालिममा सहभागीमध्ये मिडवाईफरी प्रशिक्षक भएका स्वास्थ्यकर्मीहरूलाई तालिमका मास्टर टे«नर डा। माइकलले प्रशिक्षक भएकोमा मायाको चिनो दिएका थिए ।

सो अवसरमा मन्त्री सोडारीले तालिममा सिकेको ज्ञानसीपलाई संस्थामा गएर प्रयोग गरी राम्रो नतिजा आउने गरी काम गर्न निर्देशन दिए । उनले कुनै दुविधा भएमा तुरुन्त फोन गरेर, सामाजिक सञ्जाल लगायतको माध्यमद्वारा प्रशिक्षकलाई सम्पर्क गरी निर्देशन अनुसार काम गर्न आग्रह गरे ।

तालिम सामापनमा मास्टर टे«नर माइकलले गाउँघरमा गएर प्रशिक्षार्थीहरूले शिशु र उनको आमाको ज्यान जोगाउने काम गर्ने आशा गरेको बताए । उनले गाउँमा गएर कुनै पनि आमा र शिशुको मृत्यु भएन भन्ने रिपोर्ट आएमा यो तालिम सफल भएको मानिने बताए ।

तालिममा जन्मिनेबित्तिकै स्वासप्रवास गर्न नसकेर मृत्यु हुन सक्ने शिशु र अत्यधिक रक्तश्राव भएर मृत्यु हुन सक्ने सुत्केरीलाई बचाउने तरिका सिकाइएको सुनौलो नेपालका राकेश हमालले बताए ।

तालिममा विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र नर्सिङ कलेजका मिडवाईफरी शिक्षकहरूको सहभागिता थियो । सहभागीहरूलाई विदेशी मिडवाईफरी विशेषज्ञ प्रशिक्षक, नेपाली मिडवाईफरी प्रशिक्षक तथा स्वास्थ्यकर्मीहरूले तालिम दिएका थिए ।