जाखोर बचत समूहलाई सहकारीकोरुप दिइने

धनगढी, १८ कार्तिक । जाखोर बचत समूह धनगढीलाई एक सहकारी संस्थाको रुप दिईने बताईएको छ ।

आईतबार धनगढीमा भएको समूहको बार्षिक साधारण सभामा बचत समूहलाई चाडै सहकारीको रुपमा दर्ता गरि बैधानिकता दिने जनाइएको हो । जाखोर बचत समूहका अध्यक्ष दीलबहादुर चौधरी जखोर बचत समूहलाई चाडै एक सहकारीको रुपमा दर्ता गरि बैधानिकता दिने बताए ।

बचत समूहका सदस्य रोहित चौधरी बचत समूहलाई चाँडै बैधानिकता दिन आवश्यक रहेको बताए । उनले सहकारी संस्थाको बैधानिकता पाएपछि सहकारी मार्फत बचत संकलन तथा ऋण लगानी गर्न सजिलो हुने बताए । यसका साथै उनले बचत समूह सहकारी भएपछि यहाँका थारु व्यापारी तथा विपन्न घरपरिवार लगायत कृषकहरुलाई ऋण लिन सजिलो हुने विश्वास व्यक्त गरे ।

त्यसैगरि समूहका अर्का सदस्य दुज्जी चौधरी बचत समूह मार्फत समाजमा छरिएका स–साना पुँजीलाई संकलन गरी व्यक्तिमा बचत गर्ने बानीको विकास गरेको बताईन् । साथै उनले आउने दिनमा यहाँका थारु समुदायमा बचत समूह तथा सहकारी मार्फत विभिन्न आर्थिक गतिविधी गरि आर्थिक अवस्था सुधार गर्ने उद्देश्य रहेको बताइन् ।

कार्यक्रममा बचत समूहकी सचिव रविना चौधरी समूहको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले हालसम्मको रु छ लाख ४८ हजार ३८२ रुप्या बचत संकलन भएकोमा रु तीन लाख ५३ हजार ८०४ बैंक मौजदात रहेको र दुई लाख ९४ हजार ५७८ रुप्या बचत समूहको सदस्यहरुमा ऋण प्रवाह भएको जानकारी गराइन् ।

कैलाली स्थित थारु अगुवा, वुद्धिजिवी तथा थारु युवाहरुको एक बचत समूह बनाई २०७२ साल देखि प्रत्येक सदस्य मासिक पाँचसयका दरले बचत गर्दै आएका छन् । बचत समूहमा २८ जना सदस्य रहेका छन् ।

यसैबिच बचत समूहले समयमै आफ्नो मासिक किस्ता लगायत ब्याज समयमै तिर्ने सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा जोहारीलाल चौधरी, राम दहित र रामसिंह थारु रहेका छन् । उनीहरुलाई बचत समूहका अध्यक्ष दिलबहादुर चौधरी, सदस्य रोहित चौधरी र दुज्जी चौधरी खादा ओढाएर सम्मान गरेका थिए ।