नेतृत्वकर्ताकै कारण वास्तविक कमैया लालपुर्जा पाएनन्
धनगढी, १६ कात्तिक । मुक्तिपछि कहि ओट लाग्ने ठाउँ नभएपछि मुक्त कमैया पुनाराम डगौरा थारु २०६१ साल कैलारी गाउँपालिका– ३ ओमनगर मुक्त कमैया शिविरमा सानो झुप्रो बनाएर बसे ।
उनी आफ्नो विगतलाई सम्झदै भन्छन्, ‘सानो छँदा एक वर्ष भरिको कमाही एकजोड कपडा सुनाउँथे र पनि काम गर्न बाध्य हुन्थे ।’ मालिकसंग भएको सम्झौता कुनै वर्ष पुरा हुन्थ्यो कुनै वर्ष हुदैनथ्यो ।
‘एउटै परिवारमा १२ वर्ष कमाएको अनुभव छ । तीन/चार पुस्ता सम्म आफ्नो नाममा जग्गा देखेको छैन ।’ उनले भने ।
रातो परिचय पत्र पाएका पुर्व कमैया डगौरा हाल सम्म जग्गाको लालपुर्जा नपाएको विलौना गर्दै भने, ‘हाम्रो अगुवाहरुले हामीमाथि जलसाँझी गरि टाठाबाठाहरु मिलेर शिविरको जग्गा बाँडे ।’
उनले भने, ‘शुरुमा जग्गा अगोटने क्रममा सबैको सहमतिले ओमनगर शिविर बस्यो, ८० घरधुरी सहमति गर्दै एकमतका साथ अडान लिएर बस्यो ।’ तर ‘अगुवा ठगुवा हुन्छन् भन्ने कुरा पछि आएर प्रमाणित भयो ।’
डगौराका अनुसार ०६६ सालमा भूमिसुधारले नापी पठायो । जुन बेला शिविरमै बसोबास गर्ने दुतिराम चौधरी अध्यक्ष र विरबहादुर चौधरी सचिव थिए । उहाँहरुले टोलबासीकोे निर्णय बाटोमै गायब गरि अर्को किर्ते निर्णय बनाएर पेश गरेको आरोप लगाए ।
सो निर्णय पनि भूमिसुधार बडर गर्यो, सचिव र अध्यक्ष अर्को बखडा गरे । उनीहरु पुनः अर्को निर्णय गरि शिविरमा बसोबास गर्नेहरुलाई रणभूल्लमा पारे । पुनारामको अनुसार सचिब र अध्यक्ष मिलेर बस्तीमा हल्ला फिजाए, कि ‘भूमिसुधारले हामी सबैलाई बोलाउँछ र लालपुर्जा दिन्छ । ढुक्क हुनुस् ।’
बाहिर एक थरिका प्रचार गरे, भित्र भित्रै उनीहरु फेरि अर्को किर्ते निर्णय गरेर भूमि सुधारलाई बुझाए । केही दिनमै ३८ जनाको हातमा लालपुर्जा आयो । ४२ जना पाएनन् ।
दोहोरो जमिन हुनेले पनि लालपुर्जा पाए
सोही बस्तीमै बसोबास गर्ने छुनीराम थारु आफू बास्तविक कमैया भएर पनि हरियो कार्ड पाएको बताए । सानै उमेरदेखि आमा बाबासंग कमैया बसेका थारु सरकारले मुक्त गरेको ढेर दशक सम्म पनि नाममा एक धुर जग्गा नपाएको गुनासो गरे ।
उनले भने ‘ओमनगर बस्तीमा ढाँधली गरेर लालपुर्जा लिनेहरुको अधिकांशको पुर्खौली जमिन छ ।’ भावना डगौरा थारुको सोही वडा भितरियामा दुई विघा ५ कठठा जमिन छ ।
त्यसै गरि रामपाल चौधरीको पनि भितरियामा १ विघा १० कठठा, फागुराम चौधरीको भितरियामा १० कठठा, तत्कालिन सचिव विरबहादुर चौधरीको के गाउँमा १० कठठा, तत्कालिन अध्यक्ष दुतिराम चौधरीको शिवरत्नापुरमा १० कठठा (हाल सो जमिन बेचेर भड्रीमा २ कठठा लिएको), रामचरण चौधरीको टिसिएनमा १० कठठा जमिन छ ।
यसरी दोहोरो जग्गा भएका १५÷१६ जना छन् । ती सबै ओमनगरमा लालपुर्जा पाए । तर वास्तविक कमैया सरकारले दिएको आश्वासनमै सिमित छन् । लाजपुर्जा पनि पाएनन् मानसिक तनाव झेल्नबाट पनि छुट पाएनन् ।
त्यहि बस्तीमा बसोबास गर्ने छुट कमैया (परिच पत्र नपाएको) भन्छन् ०७३/०७४ मा पनि हातमा लालपुर्जा हुनेहरु हामीलाई बस्तीबाट हटाउन खोज्दै थिए । तर निवर्तमान सिडिओ गोविन्द रिजालले तत्कालको समस्या सुनुवाई गर्न कदम चालेको बताए ।
यस्तो भन्छन् निवर्तमान सिडिओ
निवर्तमान सिडिओ गोविन्द रिजालका अनुसार ओमनगर बस्तीमा बास्तविक कमैयाहरु पीडित नै छन् । तर पनि लामो समयदेखि संघर्ष गरेर जोगाएको जमिन मिलेर बस्न पाउन् भन्ने आशयले मिलाउन प्रयास गरेको बताए ।
‘०७४ साल बस्तीमा ठूलो विबाद थियो । लालपुर्जा नपाएकालाई बस्तीबाट हटाउन खोज्दै थिए, मैले निर्देशन दिए । बस्तीबाट कोही हट्दैन अर्को व्यवस्था नहुन्जेल ।’ रिजालले भने ।
उनले भने सो बस्तीमा धेरैको दोहोरो जमिन भएको कुरा पनि आयो, कानुनी प्राबधान अनुसार एक ठाउँमा जमिन भएकाहरु अर्को ठाउँमा लिन पाउँदैनन् । यदि लिई हाले पनि त्यो स्वतः खारेज हुन्छ ।
उनले भने ‘सरकार यो विषयमा राम्रो संग अनुगमन गर्यो भने धेरै कमैयाहरुसंग दोहोरो जमिन भएको तथ्यांक बाहिर आउँछ त्यतातिर सरकारको ध्यान नै छैन ।’
गाउँपालिकाको भूमिका
कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी ओमनगर बस्तीमा पहिलैदेखि विवादित रहेको बताए । स्थानीय तह सञ्चालन ऐन २०७४ दफा ११(छ) मा सार्वजनिक ऐलानी र पर्ती जग्गा, भवन तथा भौतिक पूर्वधारको संरक्षण र सुरक्षा गर्ने अधिकार छ ।
तर उपदफा (५) संघीय र प्रदेश कानूनको अधिनमा रहि शहरी विकास बस्ती, भवन सम्बन्धी नीति कानून र मापदण्ड रहेको बताए । जस अनुरुप गापाले गर्न मिल्ने प्रक्रिया सबै अगाडी बढाई सकेको अध्यक्ष चौधरीले जानकारी दिए ।
उनले भने अब भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाँकी काम अगाडी बढाउनुपर्ने बताए ।














