तरकारी बेर्नाबाटै वार्षिक एक लाख अम्दानी
धनगढी, १४ कात्तिक । ‘मेहनत गरे नेपालमै सुन फलाउन सकिन्छ, विदेश ताक्नु पर्दैन ।’
यहि भनाईमा कतिबद्ध भएका छन् कैलारी गाउँपालिकाका एक पूर्व कमैया । २०४२ सालमा कमैयाबाट मुक्त भई कैलारी गाउँपालिका ४ के गाउँ खल्लाको चौधरी टोलमा बसोबास गर्दै आएका ५४ वर्षिय जगलाल चौधरी सुन फलाउन विदेश जानै नपर्ने तर्क दिन्छन् ।
उनी एउटै घरमा ९ वर्ष सम्म कमैया जीवन विताएको पल सम्झदै ‘सरकारले ०४२ सालमा ५ कठठा जमिन दियो, यहि जमिनमा मेहनत गरि आफ्नो जीवन शैली परिवर्तन गरेको छु ।’ उनले थप एक विघा जमिन भोगबन्दी र पाँच कठठा ठेक्का लिएर धान गहुँ फलाईरहेको बताए ।

उनले वर्षमा ४०/४५ हजारको धान बेच्ने र ४५/५० को गहुँ समेत बेच्ने गरेको बताए । उनी ४ वर्षदेखि एक कठठा जमिनमा सिजन अनुसार तरकारीको बेर्ना रोप्दै आएको बताए । ‘बेर्नाबाट वार्षिक रु एक लाख रुपैयाँ आम्दानी भईरहेको छ ।’ हामी दुई कठ्ठा जमिन तरकारी खेतीको लागि छुट्याएका छौं, जस मध्ये केही जमिनमा तरकारी खेती गर्छौ र बाँकीमा बेर्ना उत्पादन । घरमा सदाबहार हरियो तरकारी पनि खाना पाईने, बढी भएको बेचेर घर खर्च चलाउने । उनले भने ‘म कुनै ठाउँमा तालिम लिएको छैन, २०६० देखि जिल्ला वन कार्यालयमा नर्सरी बनाउने काम गरे ।’

११ वर्षे अनुभव बटुल्दै नर्सरी बनाउनमा टप भएपछि पुरस्कार समेत पाएको चौधरीले बताए । उनले नर्सरी बनाउँदा मासिक १५ सय रुपैया तलब पाउने गरेको बताए । हाल आफ्नै बारी तरकारीको नर्सरी बनाई राम्रो अम्दानी गरिरहेका छन् ।
उनले यो वर्ष आफ्नो टोलमा सबै घरलाई च्याउ बनाउनको लागि निःशुल्करुपले तालिम दिने र सबैलाई च्याउ खेति गर्न आग्रह समेत गर्ने योजना रहेको बताए । तरकारी बेर्नामा टमाटर, खुर्सानी, भन्टा, काउली र बन्द गोभी रहेको छ । लोकल गोभी र काउली प्रति विरुवा १ रुपैया, हाइब्रिड २ रुपैया, टमाटर ३ रुपैया र खुर्सानी र भन्टा २ रुपैयामा बेच्ने गरेको बताए ।

जगलाललाई हरेक पाईलामा सहयोग गर्ने उनको श्रीमति हेलिया चैधरी यो पेशामा धेरै मेहनत गर्नुपर्ने बताईन् । उनले भनिन् बेर्ना हाल्नु भन्दा पहिला माटोलाई एकदमै मसिनो बनाउनु पर्छ । विउ हाल्नेबेला पनि लाईन मिलायर एक एक वटा हाल्नुपर्छ । बेर्ना लिन आउनेहरु धेरै टाढा टाढाबाट आउने गरेको बताउदै भारतको रानाथारु लगायत गौरीगांगाबाट समेत बेर्ना लिन आउने गरेको उनले बताइन् ।














