तीन वर्ष भित्रै पुर्ण सरसफाई युक्त गाउँपालिका बनाउछौं : उपाध्यक्ष सत्गौंवा

हसुलिया, १४ कार्तिक । तीन वर्ष भित्रै कैलारी गाउँपालिकालाई पूर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने बताईएको छ ।

मंगलबार हसुलियामा भएको गाउँपालिकालाई पूर्ण सरसफाईका लागि थालेको अभियानको उद्घाटन सत्रमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी सत्गौंवा थारु तीन वर्ष भित्रै गाउँपालिकालाई पूर्ण सरसफाई युक्त गाउँपालिका घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिन् । जिल्लामा पहिलो खुला दिसामुक्त, घरभित्रको धुँवा मुक्त लगायत साक्षरता घोषणामा अग्रणी रहेको साविकाका गाउँविकास समिति कैलारीमै रहेकोले यो अभियान पनि सजिलै पुरा गर्ने समेत उपाध्यक्ष सत्गौंवा विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्य बहादुर थापा गाउँघर टोल छिमेक सरसफाई सहित सफा सुग्घर राखी कैलारी गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा चिनाउनु पर्ने जोड दिएका थिए ।

स्वास्थ्य सभ्यता र विकासका लागिग सरसफाई भन्ने नारा सहित सुरु भएको अभियानमा कैलारी गाउँपालिकाका खानेपानी सरसफाई प्राविधिक तर्क राज जोशी सरसफाई सम्बन्धी जानकारी गराएका थिए ।

कार्यक्रममा वडा नं। १ देखि ९ वडाका अध्यक्ष आआफ्नो वडामा रहेको अधुरो चर्पी तथा चर्पी निर्माण, फर्स नभएको नलमा फर्स गर्न लगाउने र सडकमा पशुपालन बाँधिनेमा रोक र पूर्ण सरसफाई युक्त गाउँपालिकालाई घोषणाका लागि प्रतिवद्धता जाहेर गरेका थिए ।

यसै बिच सरसफाई सम्बन्धी राम्रो गरेको भन्दै वडा नं। २ र ५ वडाका वडा अध्यक्षलाई नवजीवन सेवा संघ फुलमालाले सम्मानित गरेको थियो ।

कार्यक्रममा कैलारी गाउँपालिकाका योजना तथा अनुगमन अधिकृत योगेन्द्र चन्द, गाउँपालिकाका कार्यपालिका सदस्य भगरथी चौधरी, वडा ३ का वडा सदस्य सिता राम चौधरी लगायत मन्तब्य राखेका थिए । नवजीवन सेवा संघ कार्यक्रम प्रमुख एकेन्द्र ठकुल्ला स्वागत गर्दै कैलारी गापासंग सहकार्य गरी गाउँगाउँ, घर घर, टोल टोलमा गएर सरसफाई सम्बन्धी अभियान चलाउने बताए ।

कार्यक्रमको सञ्चालन कैलारी गाउँपालिकाका सामाजिक विकास अधिकृत यगम कलेल गरेका थिए । गाउँपालिकालाई पूर्ण सरसफाई युक्तका लागि नवजीवन सेवा संघ र कैलारी गाउँपालिकाको संयुक्त रुपमा सञ्चालित अभियानलाई सहयोगी संस्था फिदा रहेको छ । कार्यक्रममा जनप्रति निधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।