‘काम गरेर खाँदा बेग्लै मजा आउछ’

धनगढी, १३ कात्तिक । धनगढी उपमहानगरपालिका २ विशालनगरका ५४ वर्षिय भिम रोकाया १८ वर्षदेखि सडक पेटीमा बसेर कामको मजा लिईरहेछन् । उनी धनगढी बिच बजारको सडकपेटीमै बसेर मोची (जुत्ता सिलाई) को काम गर्दै आईरहेका छन् ।

शारिरकरुपले एकदमै कमजोर देखिने रोकाया जिल्ला जनस्वास्थ्य कार्यालयको गेट छेउमा बसेर मोची काम गर्न थालेको १८ वर्ष पुरा भएको बताउछन् ।

पुर्खेउली घर डोटीको सिलगढीमा रहेको बताउदै उनले भने यूवा अवस्थामा भारतको गल्लीमै मजदुरी गरेर जिविको चलाए तर पछि धनगढी आएर मोचीको काम गर्दैछु । ‘मलाई काम गरेर खाँदाको मजा बेग्लै छ ।’

‘छोरा छोरी हुर्काई सके, जेठो छोराले पनि जुत्ता बनाउने पसल खोलेर बसेको छ । मलाई सडकको पेटीमा बसेर मोचीको काम नगर भन्छ ।’ उनले भने, म राती रक्सी खान्छु, यो काम छोडेपछि छोराले मलाई पैसा दिदैन भनेर मेहनत गर्दैछु ।’

उनले पुनः थपे, दिनभरिको कमाही ७÷८ सय हुन्छ । घर जानेबेला थोरै रक्सी किनेर लान्छु र बुढाबुढी संगै बसेर खान्छौ । हामी यसैमा रमाईरहेका छौं ।

यही असारमा ८५ वर्षको उमेरमा आमा वित्नु भयो, मैले खुट्रुकेमा जमा गरेको पैसाले आमाको काजकिरिया गरे । थोरै थोरै जमा गर्दै जाँदा पनि २७ हजार जमा भएको थियो । अहिले नयाँ खुट्रुके बनाएको छु ।

उनले भने आपत परेको बेला ऋण खोज्न गाह्रो हुन्छ त्यही भएर यसरी नै पैसा जमा गर्नुपर्छ । अरु कमाही खानु भन्दा आफ्नै कमाहीमा रमाउदा मजा आउँछ ।