विप्लव माओवादीद्वारा कैलालीको स्थानीय तहहरुमा जनसत्ता घोषणा गर्दै

धनगढी, २९ असोज । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीको स्थानीय तहहरुमा धमाधम आफ्नो जनसत्ता घोषणा गरिरहेको छ ।

पार्टीले सरकारलाई चुनौती दिदै नेकपा जिल्लाको थुप्रै स्थानीय तहम जनपरिषद घोषणाको क्रमलाई तीव्रता दिएको हो । सोही अनुरुप कैलारी गाउँपालिकामा १३ सदस्यीय गाउँ जनपरिषद घोषणा गरेको छ जसमा प्रमुख नरेश चौधरी र उपप्रमुख रामदिन चौधरी रहेका छन् ।

सरकारलाई ठाडै चुनौती दिदै नेकपाले जिल्लाको विभिन्न स्थानीय तहमा जनपरिषद घोषणाको कार्यलाई तीव्रता दिएको हो । आइतबार नेकपाले जिल्लाको कैलारी गाउँपालिकामा अविरलको संयोजकत्वमा आफ्नो जनपरिषद घोषणा गरेको हो ।

नेकपाको थारुवान जनपरिषद कैलाली जनसरकार प्रमुख करन चौधरीले जिल्लाको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका र बर्दगोरिया गाउँपालिकामा जनपरिषद घोषणा गरिसकेको बताए ।

संसदीय व्यवस्थाको विरोध स्वरुप केन्द्रीय कार्यक्रम अनुसार स्थानीय तहहरुलाई कब्जा गर्ने रणनीतिका साथ जनपरिषद घोषणा गरिहेको बताए । बढ्दै गएको भष्टचार, महंगी, अपराधलाई नियन्त्रण गर्न जनपरिषद घोषणा गरिरहेको पनि उनले जिकिर गरे ।

त्यस्तै, नेकपा कैलाली इन्चार्ज विवेक कुमालले संसदीय व्यवस्थालाई विस्थापित गर्ने तथा संसदीय व्यवस्थाबाट सञ्चालित सबै संयन्त्रलाई विस्थापित गर्ने रणनीतिका साथ जनसरकार घोषणाको कार्यक्रम गरिरहेको बताए । अन्ततः जनवादी सत्ता स्थापना गर्ने उनको भनाई थियो ।

यसैबीच स्थानीय तहका जनप्रतिनिधिहरुले विप्लव नेतृत्वको नेकपाको चन्दा आतंक सिर्जना भएको बताएका छन् । विभिन्न नाममा चन्दा आतंक हुँदै आएको बताएका हुन् ।